मकवानपुरगढीमा फहराइयो विजयको झण्डा



न्युज अफ नेपाल, हेटौंडा ।

ऐतिहासिक मकवानपुरगढीमा २ सय ५८ औं विजयोत्सव मनाइएको छ । मकवानपुरगढी विजयोत्सव मुल समारोह समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल विजयको झण्डा फहराइएको थियो ।

विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबभन्दा ठूलो जित हासिल गरेको पहिलो युद्ध भएको दिनको स्मरणमा विजयोत्सव मनाइएको हो । उक्त युद्धलाई गोर्खाली सेनाले विदेशी सेनासँग लडेको पहिलो युद्धका रुपमा लिइन्छ । पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित रहेको बताइन्छ ।

नेपाली सेनाले विदेशी सेनासँग लडेर सबभन्दा धेरै संख्यामा हताहती गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनका रुपमा माघ १० गते गढी क्षेत्रमा विजयोत्सवका रुपमा मनाउने गरिएको छ । लडाइँमा बंगाली सेनाबाट जफत गरिएका हातहतियारका कारण गोर्खाली सेनाले नेपाल एकीकरण अभियान सफल बनाएका थिए भने नेपाली सेना व्यबस्थित हुने अवसर प्राप्त भएको थियो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले गढीको इतिहास, महत्व र पर्यटकीय क्षेत्र विकासका रुपमा अगाडि बढाउँदै लगिएको बताउनुभयो । मकवानपुर क्षेत्र नम्बर–१ का निवर्तमान सांसद् कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, मकवानपुरगढी–२ का अध्यक्ष बखानसिं पाख्रिनलगायतले विजयोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो ।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरगढीको २ सय ५८ औं विजयोत्सव शनिबार भव्यरुपमा मनाइएको हो । मकवानपुरगढी गाउँपालिका वडा–२ मा पर्ने गढी दरबारमा गाउँपालिकाले भव्यरुपमा कार्यक्रम भएको हो । गोर्खालीले विदेशी मुगलहरु आक्रमण गर्न आउँदा प्रतिकार गरी विजय गरेको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ ।

तत्कालीन गोर्खाली सेनाले आधुनिक हतियारयुक्त बंगालका मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेका थिए । गोर्खाली सेनाद्वारा मुगालका एक हजार सात सय सेना हताहत भए । जसमा दुई वटा तोप, पाँच सय बन्दुक र गोला र बारुद आदि उनीहरुले छाडेर गए ।

मकवानपुरका इतिहासकार केदारप्रसाद न्यौपानेका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलका एक हजार ७ सय सेनालाई पराजित गरेको थियो । गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको शनिबार २ सय ५८ वर्ष पुगेको छ ।

१८१९ पुस २७ गते युरोपियन मूलका सेना प्रमुख गुरगिन खाँको नेतृत्वमा तीन हजार सेना तथा भरियासमेत मकवानपुर पठाइएको थियो । करिब ४ सय दक्ष र केही सामान्य सैनिक रहेको गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाए ।
विसं १८१९ माघ ९ गते शुरु भएर १० गते विहान सकिएको युद्धमा तीन हजारमध्ये एक हजार ७ सय सेना मारिए । नेपालका ३० जनामात्र मारिए । २५८ वर्षअघिको जितपछि गोर्खाली सेनाले मिरकासिमका फौजबाट ५ सय भन्दा धेरै राइफल र चार तोप हात पारेको उल्लेख छ ।

तोप हात पारेर चार गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाइयो । केही समयपछि पुरानो गोरख गुल्मसमेत स्थापना गर्न सफल भयो ।

गढी र तिनको ऐतिहासिकता अध्ययन गर्नुभएका न्यौपानेका अनुसार देशभरका कयौं गढीमध्ये मकवानपुरगढीको इतिहास लामो र महत्पूर्ण छ । गोर्खालीहरु कतिका बहादुर छन् भन्ने कुरा सम्झना गराउन पनि विजयोत्सव मनाउनु जरुरी रहेको न्यौपानेको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गरेका छन् । मुकुन्द सेनले राज्य बाँडफाँट गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा प¥यो । लोहाङले विसं १६१० पछि राजदरबार बनाएका थिए । त्यसपश्चात् गढीको पुनर्निर्माण गरी मकवानपुर राज्यको पुनर्निर्माण र विस्तार गरिएको बताइएको छ ।

उक्त स्थानमा तत्कालीन मकवानपुरे राजा हेमकर्ण सेनकी रानीले रानीचौतारा बनाउन लगाएकी थिइन् । उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोला भेटिने गरेको न्यौपानेले बताए । चारैतिर अग्लो पर्खालले घेरिएको हेमकर्णको दरबार छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो । हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग गोरखाका तत्कालीन युवराज पृथ्वीनारायण शाहले मकवानपुरगढीमै वरियात ९जन्ती० ल्याएर विवाह गरेका थिए । हाल दरबारको भग्नावशेष देख्न सकिन्छ । मकवानपुरगढी दरबार विसं १६१० तिर नै सेनवंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ ।

सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीयस्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशको सबभन्दा ठूलो र पुरानो गढी मानिन्छ ।

मकवानपुरगढी दरबारको जीर्णोद्धार गर्दा पुरानो दरबारको अस्तित्व नमेटिने गरी र पुरानो मौलिकता रहने गरी गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न बैठकका पालिकाले आग्रह गरेको छ । बैठकले पुनर्निर्माणका लागि पुरातत्व विभागका प्रतिनिधि तथा स्थानीयको सहभागिता र वडा–२ का अध्यक्ष पाख्रिनको अध्यक्षमा समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्