काभ्रेमा ओली समुहको बैठक र प्रशिक्षण



मोतीराम तिमल्सिना, काभ्रे । 

नेकपा काभ्रे ओली समुहको जम्बो टोलीको बैठक र प्रशिक्षण विभिन्न प्रस्ताव पारित गर्दै शनिबार सम्पन्न भएको छ । बनेपामा माघ ९ गते र १० गते आयोजित बैठकमा केन्द्रिय सदस्यहरुले प्रशिक्षण दिएका थिए । नेकपा संयोजक रुकु चौलागाई र सचिव टोकबहादुर वाईवा प्रचण्ड नेपाल समुहमा सक्रिय भएसँगै ओली समुहले पदमुक्त गर्दै अशोक ब्याञ्जुलाई संयोजक र नारायण पाण्डेलाई सचिव बनाउँदै ६ सय ९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो ।

दुई दिनसम्म संचालन भएको बैठकको दोश्रो दिन नेकपा विप्लव समुहका केन्द्रिय सदस्य एवं माओवादी युद्धका कमाण्डर काभ्रे चौरीदेउराली निवासी चुडामणी गौतम ‘हेमक’ नेकपामा प्रवेश गर्दै मन्तब्य ब्यक्त गरेका थिए । ‘जनअधिकारको प्रश्न नभई यतिबेला मुलुकमा राष्ट्रियता संकटमा छ’–नेता हेमकले भन्नुभयो–‘राष्ट्रियता संकटमा परेका बेला हाम्रो जिम्मेवारी र दायित्व त्यसको रक्षार्थ हुनु पर्छ भन्ने विश्वास सहित प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको संंकल्प र दृढतालाई साथ दिन नेकपामा समाहित भएको हुँ ।’ अहिले सिमा र राष्ट्रियताको रक्षा गर्नु पर्ने आवश्यकता भएको उहाँको निश्कर्ष थियो । जिल्लाको विकट मानिने कोशिपारी क्षेत्र राम्रो प्रभाव भएका चुडामणी गौतम ‘हेमक’ प्रचण्डको विचारमा स्खलन भएको भन्दै तत्कालिन अवस्थामा मोहन बैद्य किरण समुहमा लागेका थिए । किरण समुहबाट उनि विप्लब समुहमा सक्रिय भएका थिए । यस अघि पनि नेकपा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले तामाङ मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष कान्छा लामा सहित १ सय ५० नेताहरुलाई विब्लव समुहबाट नेकपामा प्रवेश गराएका थिए ।

बैठकमा नेकपा केन्द्रिय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बीचमा जाने निर्णयलाई कार्यान्वयन गर्न पार्टी कमिटी सक्रिय र सबल बनाउँदै निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । ‘विकास र समृद्धी हाम्रै पालामा गर्ने हो, हाम्रै नेतृत्वमा मात्रै सम्भव छ’–नेता बास्कोटाले भन्नुभयो–‘आत्मविश्वास सहितको मुस्कान भरिएको ब्यक्तिले मात्रै संगठनलाई मजबुत र शशक्त बनाउन सक्छ ।’ अध्यक्ष अशोक ब्याञ्जुले संगठन निर्माण तथा पार्टी सुदृढीकरण कार्यक्रम सहित पालिका स्तरको कार्यक्रम घोषणा गर्नु भएको थियो । माघ १७ देखि फागुन २२ सम्म १ सय ३५ वडामै कमिटी निर्माण, भातृ संगठनहरु गठन र पुर्नगठन तथा आमसभा समेत सक्ने गरी कार्ययोजना पास गरिएको अध्यक्ष ब्याञ्जुले बताउनु भयो । जनप्रतिनिधीहरुको पालिका तहमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, एकता प्रकृयामा सामेल भएका निर्वाचित भएका तथा उम्मेदवार भएका सबैलाई समावेश गर्ने, जनसंगठनहरुका जिल्ला भेला, सहकारी बन लगाएत सामुदायीक क्षेत्रका कार्यकर्ताहरुको पालिकास्तरमा भेला, दुई वटै प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय सम्पर्क कमिटी गठन, चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रीय सम्पर्क कमिटी गठन, प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रीय कमिटी गठन, इन्चार्ज, संयोजक, सचिवको चयन र निर्वाचनको तयारी गर्ने गरी कार्ययोजना बनाईएको अध्यक्ष ब्याञ्जुले जानकारी दिनु भयो ।

बैठकमा केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्री रेशम लामाले पार्टी कमिटी सवल र सक्षम बनाउन भुगोलमा केन्द्रिकृत हुनु पर्ने बताउँदै राष्ट्रिय राजनीतिमा केपी ओलीको अडान र जनतामा जान घोषणा गरिएको निर्वाचन सहि भएको बताउनु भएको थियो । केन्द्रिय सदस्य रिता ढकालले प्रचण्डले पटक पटक धोका दिएकाले राष्ट्रियताको सवालमा केपी ओलीको अडान सहि भएकाले नेकपाको मुलधार केपी ओली समुहका सक्रिय भएको बताउनु भयो । संविधान सभा सदस्य एवं केन्द्रिय सदस्य रामहरी सुवेदीले वडा वडामा निर्वाचनमा विजयी हुने गरी पार्टी कमिटी सक्रिय हुन निर्देशन दिनु भयो । बैठकमा पालिका स्तरका जिल्ला कमिटी सदस्यहरुले पालिकाको संयोजक र सचिव तोक्ने गरी जिम्मेवारी प्रदान गरिएको सचिव नारायण पाण्डेले बताउनु भयो । इन्चार्ज र सह इन्चार्ज जिल्ला कमिटीको बैठक मार्फत टुङ्गो लागेको सचिव पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्