मुख्यमन्त्री पौडेल ‘पदमुक्त’ !

कांग्रेसको मौनताबीच नयाँ मुख्यमन्त्री प्रस्तावित



न्युज अफ नेपाल, हेटौंडा ।

संघीय संसद् बिघटनविरुद्धको प्रत्यक्ष असर बागमती प्रदेशमा देखापरेको छ । नेकपाका नेताहरु विभाजनको मनस्थितिमा देखिएको बेला बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव सफल र असफल बनाउने आन्तरिक खेल शुरु भएको छ । त्यतिमात्र होइन, नयाँ मुख्यमन्त्रीको नाम प्रदेश संसद्मा प्रस्ताव गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव शुक्रबार सदनमा पेश भएको हो । शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव सदनमा पेश गर्न अनुमति दिनुभएपछि प्रस्ताव दर्ता भएको थियो ।

प्रस्ताव पेश भएसँगै प्रदेशसभा बैठक सभामुख श्रेष्ठले स्थगित गर्नुभएको छ । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । ‘प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढ्नेछ,’ सभामुख श्रेष्ठले भन्नुभयो ।

अविश्वास प्रस्ताव प्रदेशसभामा पेश गर्दै पूर्व उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री नेपालले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपा संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गर्नुभयो । उहाँको उक्त प्रस्ताव पूरा हुने बहुमतका लागि नेपाली कांग्रेसको साथ अनिवार्य भए पनि हालसम्म कांग्रेस अनिर्णित छ ।

मुख्यमन्त्री पौडेलले तीन वर्ष अवधिमा प्रदेशलाई स्थापित गर्न चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएका कारण अविश्वास प्रस्ताव दर्ता गरिएको नेपालले बताउनुभयो ।

सांसद् नेपालले संघीय सरकारले प्रदेश सरकारप्रति उपेक्षाभाव प्रस्तुत गर्दासमेत मुख्यमन्त्री पौडेलले कानुनसम्मत् तरिकाबाट प्रतिकार गर्न नसकेकाले अविश्वास प्रस्ताव ल्याउनुपरेको स्पष्ट पार्नुभयो । उहाँले समृद्धिका लागि गठन भएको प्रदेश सरकारको काम हेर्दा शिर निहुराउनुपर्ने अबस्था आएको बताउनुभयो । उहाँले संघीयतामाथि दिनदहाडै आक्रमण गर्ने काम भएको टिप्पणी गर्नुभयो ।

प्रचण्ड–माधव नेपाल पक्षका नेता÷प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले ४५ सांसद्ले हस्ताक्षर गरेको हुँदा अब ११ जना सांसद् जरुरी रहेकोले १९ गतेसम्म पूरा गरी जसरी भए पनि मुख्यमन्त्री पौडेललाई पदमुक्त गराएरै छाड्ने दाबी गर्नुभयो । मुख्यमन्त्री पौडेललाई पदमुक्त गराउन नेपाली कांग्रेसको साथ जरुरी रहेकोले कांग्रेसका नेताहरुसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेकपाका दुवै पक्षले बेग्लै हेटौंडाका होटलहरुमा आफ्ना पक्षका सांसद्लाई सामूहिकरुपमा राखेका छन् । एकअर्काले सांसद्हरुलाई ‘वन्धक’ बनाइएको आरोप लगाएका छन् । एउटा पक्षले यस्तो कार्यलाई ‘स्वभाविक’ भनेको छ भने अर्को पक्षले यसलाई ‘वन्धक’ र ‘सांसद् किनबेचको श्रृंखला’ भनेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५, पिप्लेमा रहेको एक रिसोर्टमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षले प्रदेशसभा सदस्यहरुलाई ‘वन्धक’ बनाएको नेकपा ओली पक्षले आरोप लगाएको छ ।

अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद्लाई बिहीबारदेखि रिसोर्टमा वन्धक बनाइएको मुख्यमन्त्रीनिकट सांसद् दीपक निरौलाले आरोप लगाउनुभयो । त्यहाँ राखिएका सांसद्हरुलाई कसैलाई भेट्नसमेत नदिएको निरौलाले बताउनुभयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले रिसोर्टमा सांसद्हरुलाई केकस्तो अबस्थामा राखिएको छ भन्ने सत्य कुरा बाहिर ल्याइनुपर्ने माग गर्नुभयो ।

प्रचण्ड–माधव पक्षका संसदीय दलका उपनेतासमेत रहनुभएका प्रदेशसभा सदस्य शालिकराम जम्कट्टेलले भने अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद्हरु एकैस्थानमा बस्ने संसदीय परम्परा कायम राखिएको स्पष्टीकरण दिनुभएको छ ।

उहाँले भन्नुभयो–मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद्हरु संसदीय परम्पराअनुसार एउटै होटलमा बसेका हौंं । वन्धक बनाएका होइनौं । ओली पक्षका नेताहरुले हेटौंडाको अर्को होटलमा सांसद्लाई राखेको आफूहरुको जानकारीमा आएको र सँगै बस्दा वन्धक बनाएको भन्न नमिल्ने उहाँको कथन छ ।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । बिहीबार कार्यव्यबस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्