बालिका बलत्कारमा संलग्नलाई हदैसम्मको कारवाही गर्ने प्रहरी प्रशासनको अठोट



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा भएको वालिका बलात्कारमा संलग्नलाई हदैसम्मको कानूनी कारबाही गर्न कुनै किसिमको कसर बाँकी नराख्ने स्थानीय प्रहरी प्रशासनले प्रतिवद्धता व्यक्त गरेको छ ।

महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको वुमन केयर नेपालद्धारा शुक्रबार घटनास्थल तिलोत्तमा नगरपालिका वडा नं १३ कवनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे र रुपन्देहीका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक प्रविण पोखरेलले घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न प्रहरी प्रशासनको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनामा संलग्नलाई बढि भन्दा बढि सजाय दिलाउन प्रशासनको तर्फबाट कुनै कसर बाँकी नराख्ने भन्दै आगामि दिनमा त्यस्ता घटना घट्न नदिनेतर्फ स्थानीय सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

रुपन्देहीका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक प्रविण पोखरेलले घटनामा संलग्न अभियुक्तले अपराध स्वीकार गरेकोले निजलाई हदैसम्मको सजाय हुने जानकारी गराउदै सोही अनुसार प्रहरीले मुद्धा अगाडी बढाएको बताउनुभयो ।

घटनापश्चात सो क्षेत्रमा प्रहरीको गस्ती बढाइएको बताउदै प्रहरी उपरीक्षक पोखरेलले संकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा तिलोत्तमा स्थित अविनास आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले पिडित वालिकालाई १२ कक्षासम्मको पठन पाठनको जिम्मा आफुले लिने बताउनुभयो ।

स्थानीय शिक्षिका सरस्वती आचार्यले घटनापश्चात वालवालिकाहरु विद्यालय आउन डराएको भन्दै स्थानीय जनतामा सूरक्षाको प्रत्याभूती दिलाउनुपर्नेमा जोड दिनुभयो ।

सोअवसरमा पिडित वालिकाकाका आफन्त तथा छिमेकीहरुले पिडित वालिकाको शिक्षा दिक्षा र रोजगारीको व्यवस्था गर्न माग गरेका थिए ।

वुमन केयर नेपालकी अध्यक्ष रीता केसीले घटनापछि समाजमा डर त्रासको वातावरण उत्पन्न भएको र वालिवालिकाहरु विद्यालय आउन डराइरहेको भन्ने थाहा पाएर प्रहरी प्रशासन र संघ संस्थाहरु पिडित परिवार तथा स्थानीयवासीको साथमा छन भन्ने प्रत्याभूती दिलाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । पिडित परिवारलाई आवस्यक सहयोग गर्न वुमन केयर नेपाल तयार रहेको भन्दै आगामि दिनमा त्यस किसिमका घट्न नदिन जनचेतनामूलक कार्यक्रम पनि गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्