ओलीलाई हिटलर बन्नबाट रोक्न सशक्त जनआन्दोलन आवश्यक : डा. भट्टराई



यमलाल भुसाल, बुुटवल ।

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई हिटलर बन्नबाट रोक्न सशक्त जनआन्दोलन एकमात्र विकल्प भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीमा तानासाही शासक बन्ने महत्वाकांक्षाका कारण राष्ट्रिय अनुसन्धान विभाग,राजश्व अनुसन्धान विभाग लगायतका संयन्त्र आफु मातहत ल्याएको भन्दै भट्टराइले प्रधानमन्त्री ओलीलाई हिटलर बन्नबाट रोक्न ससक्त जनआन्दोलन एकमात्र विकल्प भएको बताउनु भएको छ ।

संविधान र लोकतन्त्रमाथि प्रहार गरेर मूलूकमा ठूलो दुर्घटना निम्त्याइएको भन्दै उहाँले आन्दोलनबाट प्राप्त उपलव्धि रक्षाका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजुट भएर ससक्त आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । प्रेस नेपालद्धारा शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले अहिले एक्लाएक्लै आन्दोलनमा उत्रेका राजनितिक दलहरुले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई समेत संविधान र लोकतन्त्रको रक्षाका लागि ढुलमुलमा नपर्न आग्रह गर्नुभयो ।
राज्य संयन्त्र कब्जा गरेपछि मात्रै प्रधानमन्त्री केपि ओलीले प्रतिनिधिसभा विघटन गरेको बताउदै उहाँले प्रधानमन्त्री ओलीले अदालतलाई समेत धम्क्याउने खालका अभिव्यक्ति दिदै आएको आरोप लगाउनुभयो ।

राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान लगायतका संयन्त्रलाई आफू मातहत ल्याएपछि र अख्तियारलाई समेत आफ्नो प्रावमा पारेर मात्रै संसद विघटन गरिएकाले यो गम्भिर रहेको बताउनुभयो ।

संसद विघटनमा गम्भीर षडयन्त्र भएकोले ओली कदमका विरुद्ध तेस्रो जनआन्दोलन गर्नुपर्ने आवस्यकता औल्याउनुभयो ।

सर्वोच्च अदालतलाई समेत धम्की दिएकाले उसले निर्धक्क फैसला गर्नेमा शंका रहेको बताउदै डा. भट्टराईले अदालतको सूरक्षाका लागि जनता साथमा छन भन्ने सन्देश दिन पनि जनता सडकमा आउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

झण्डै दुुई तिहाई मत भएको सरकार र संसद विघटन गरेर चुनाव गर्न खोजिएको होईन, व्यवस्था नै भत्काउने गरि संसद विघटन गरिएको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भन्नुभयो –‘जनताको बलमा मात्रै प्रतिगमन सच्चाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्