हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग दुई महिना बन्द



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडालाई काठमाडौं जोड्ने परिचित छोटो मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं सडक खण्डअन्तर्गत् निर्माणाधीन आयोजना क्षेत्रमा माघ १० गते शनिबारदेखि दुई महिनाका लागि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा परिचित उक्त सडक खण्डअन्तर्गत् निर्माणाधीन आयोजना क्षेत्रमा चैत १० गतेसम्म सबै प्रकारका सवारीसाधन आवतजावतमा रोक लगाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोडसुधार, सडक चौंडालगायत कार्य जारी छ । उक्त सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाडौं आउजाउमा त्रिभुवन राजपथ, कान्तिलोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौंडाअन्तर्गत् आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेक सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय भएको हो ।

प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्म १६ किलोमिटर सडक स्तरोन्नति कार्य तोकिएको समयमा गुणस्तरीय निर्माण गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला प्रतिनिधिबीचको छलफलपश्चात् यस्तो निर्णय भएको प्रजिअ रिजालले बताउनुभयो ।

करिब ३५ करोड लगानीमा विसं २०७८ असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्