राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम



विराटनगर । आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणाअनुसार जिल्ला निर्वाचन कार्यालय मोरङ पनि आवश्यक तयारीमा जुटेको छ ।

जिल्ला निर्वाचन कार्यालय मोरङले मतदाता नामावली अद्यावधिक (दाबीविरोध समेत) विषयसँग सम्बन्धित रहेर सरोकारवालासँग आज अन्तरक्रिया कार्यक्रम र जिल्ला मतदान स्थल तथा मतदान केन्द्र समितिको बैठक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा सम्पन्न भएको छ । मतदाता दाबी विरोधका लागि माघ १५ देखि फागुन २१ गतेसम्मका लागि समय अवधि तोकिएको छ ।

जिल्लास्थित सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय पालिका प्रमुख, प्रशासकीय अधिकृत, सुरक्षाकर्मी सम्मिलित सो बैठकमा मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने निर्णय भएको छ ।निर्वाचन कार्यालय मोरङको १७ वटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले जानकारी गराउनुभयो ।

उहाँले नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा सहायक नामदर्ता अधिकारीले आवश्यक छानबिन गरी नाम हटाउनका लागि प्रमुख नामदर्ता अधिकारीसमक्ष पेश गर्नुपर्नेबैठकमा प्रजिअ निरौलाले निर्वाचनमा आम मतदातालाई निर्वाचन स्थल वा केन्द्रसम्म जान सहज हुने किसिमको सुझावलाई ग्रहण गर्ने भन्दै निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी निरौलाले राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदानस्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने बताउनुभयो ।

हाल मोरङमा एक महानगरपालिकासहित १७ वटा स्थानीय पालिका, छ वटा निर्वाचन क्षेत्र छन् भने २०७४ को संसदीय निर्वाचनमा छ लाख ४४ हजार ७८३ मतदाता सहभागी भएका थिए । विसं २०७७ पुस ५ गतेभित्र १८ वर्ष उमेर पुगेका तस्वीरसहित मतदाता नामावलीमा नाम समावेश भइसकेका अहिले मोरङमा छ लाख ७२ हजार ४०० मतदाता छन् । गएको निर्वाचनमा यस जिल्लामा ३०० मतदान केन्द्र र ७५८ मतदानस्थल कायम गरिएको थियो भने आउने निर्वाचनमा यस परिवर्तन भई ३०० मतदान केन्द्र र ७८४ मतदान स्थल कायम हुनसक्ने अनुमान गरिएको छ ।

हुम्ला–जिल्ला निर्वाचन कार्यालयले तयारी अघि बढाएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए । माघ १६ गतेदेखि मतदाताको नामावलीको त्रुटि सच्याउने र दाबी विरोध हटाउने काम शुरु हुने निमित्त जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयो । जिल्लाका सात गाउँपालिकाका ४४ वटा वडामा रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र छन् ।

प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम हुन्छ, फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।नाम्खा गाउँपालिका ११ वटा मतदान केन्द्र सिमकोटमा आठवटा, खार्पुनाथमा पाँचवटा सर्केगार्डमा ११ वटा, चङ्खेली गाउँपालिका सातवटा अदानचुलीमा छ वटा र ताजाँकोट गाउँपालिकामा छ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा २७ हजार ७५४ मतदाता रहेका छन् ।

हुम्ला जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ वटा पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्