निजगढ विमानस्थल निर्माणमा अवरोध हुँदैन: मन्त्री आले



विमल  विष्ट, काठमाण्डौ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वारा जिल्लाको निजगढमा निर्माण गरिन लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालयबाट कुनै अवरोध नहुने बताउनु भएको छ ।
बारा जिल्लाको निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने ठाउँको आज अनुगमन गर्नु त्यहाँ जानु भएका मन्त्री आलेले विमानस्थल निर्माणमा रुख काट्नु पर्ने भएकाले ती रुख कटान गर्नमा मन्त्रालयबाट कुनै अवरोध नहुँने बताउनु भएको हो ।अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थल निर्माण गरिने काइयाबस्ति क्षेत्रमा रहेका कम्तिमा पनि एक हजार ४७६ घर धुरीका नागरिक विस्थापित हुने भएकाले सबै भन्दा पहिले ती वस्तिका नागरिकको उचित व्यवस्थापन गरी विमानस्थल निर्माणको कार्य अगाडी बढाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई बिस्थापित गरेर सडकमा अल्पत्र छोडेर विमानस्थल बन्दैन, बरु विस्थापित हुने घरधुरीका नागरिकलाई उचित व्यवस्थापन गरेर निर्माण कार्य अगाडी बढाउनु पर्छ ।”
निजगढ विमानस्थल निर्माणका लागि कम्तिमा पनि पाँच लाख रुखहरु काटिने देखिएकाले बिकासका क्रममा रुख कटानमा मन्त्रालयको अवरोध नहुँने समेत मन्त्री आलेले सो अनुगमनका क्रममा जानकारी दिनुभयो । “रुखै काट्न नपाइने त होइन, नागरिक सहित देशको विकासका लागि सहयोग गर्न आवश्यकता हेरी केही ठाउँमा रुख काट्नु पर्ने हुन्छ”, उहाँले थप भन्नुभयो, “गलत मनसायले रुख काटिने छैनन् र काट्न दिने पनि छैनौँ, विकासमा सहयोग पुग्ने हेतुले केही रुख काटिदा मन्त्रालय बाधक हुँने छैन् ।”
सोही अनुगमनका क्रममा निजगढ पुग्नु भएका नागरिक उड्यन तथा पर्यटन मन्त्री भानुभक्त ढकालले वाराको निजगढमा निर्माण गरिन लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थल देशकै नुमना विमानस्थल बनाइने बताउनु भएको छ । अनुगमनका क्रममा बोल्नु हुँदै मन्त्री ढकालले निजगढ विमानस्थल निर्माण भए देशकै मुहार फेरीने तथा यहाँकै नागरिकहरुले प्रतक्ष सेवा पाउने भएकाले यो विमानस्थल चाडै निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढ विमानस्थल अन्तराष्ट्रिय स्तरमै नमुना विमानस्थल बनाइने छ, जसकालागि हामी निकै कसरतमा छौँ, चाडै कामको सुरुवात हुँने छ ।” विमानस्थल निर्माण क्षेत्रको अनुगमन गर्नका लागि मन्त्री सहितको अनुगमन टोली अहिले बारा जिल्लामै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्