कमलपोखरीको जमिन एक इन्च पनि मिचिएको छैन, पत्रकार सम्मेलन गरेर सत्य–तथ्य जानकारी दिन्छु : मेयर शाक्य



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताउनु भएको छ । आज काठमाडौँ महानगरपालिका नगरसभाको आठौँ अधिवेशनलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘हामीले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँँ,’ शाक्यले भन्नुभयो, ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ ।’

उहाँले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको पनि जानकारी दिनुभयो । ‘बास्तुविदहरुसँग पनि हामीले पटक–पटक छलफल गरेर उहाँहरुको सुझाव अनुसार नै काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘पुर्ननिर्माणको काम अहिलेसम्म सकिसक्नु पर्ने हो । हामीले ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका थियौँ । तर, अहिले विभिन्न खाले आरोप लगाएर अवरोध गर्ने काम भएको छ । यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।’

पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको भन्दै समाचार आइरहेको भन्दै त्यसप्रति पनि ध्यानाकर्षण भएको बताउनुभयो । ‘पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु । उहाँहरुले त्यहाँको बारेमा आएको समाचारका सन्दर्भमा सामान्य ध्यानाकर्षण चाँहि गराउनु भएको हो,’ शाक्यले भन्नुभयो, ‘तर, त्यहि कुरा पनि एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्ययममा प्रचार गर्ने कुरा गलत छ । पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो ।

हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ । त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदै छौँ ।’सांसद थापाले पनि मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको आरोप लगाउनुभयो । ‘मैले उहाँले पठाएको पत्र अहिलेसम्म प्राप्त गरेको छैन । मलाई पठाएको भनेको पत्र बारेको समाचार पढेर र सुनेर मात्रै थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘ पुरातत्वले काम रोक्नु भन्दा–भन्दै रातारात पोखरीमा डोजर चलाएको भनेर पनि समाचार आएका छन् । मैले ठेकेदारहरुसँग त्यो विषयमा जानकारी लिएको छु । उहाँहरुले प्रचार गरे जस्तो होइन रहेछ ।’

अहिले विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भयो भन्ने जस्ता समाचार आइरहेको भन्दै सञ्चारमाध्ययममा आए जस्तो कमलपोखरीको जमिन १ इन्च पनि नमिचिएको उहाँले दाबी गर्नुभयो । ‘कमलपोखरी पुर्ननिर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको छ,’ शाक्यले भन्नुभयो, ‘पुर्ननिर्माणकै क्रममा करीब पाँच रोपनी क्षेत्रफलमा रहेको महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई अन्यन्त्र सार्दा कमलपोखरी आसपासको क्षेत्र स्वतः बढेको छ । हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ ।’

उहाँले सम्पदा मासेर कंक्रिट प्रयोग भयो भनेर प्रचारप्रति पनि ध्यानाकर्षण भएको बताउनुभयो । ‘त्यहाँ त्यस्तो प्रचार गरे जस्तो छैन । हामीले त्यहाँ चार कुनामा मौलिकता झल्किने गरी सम्पदाको पनि संरक्षण गर्दै कला र संस्कृतिलाई जोड्ने गरी चार वटा मण्डप बनाउन खोजेका छौँ । त्यहाँ पनि महानगरपालिकाले सम्पदा मास्यो भनेर प्रचार गरिएको छ,’ ‘उहाँहरुले भने जस्तो कंक्रिट नै कंक्रिट नभई मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेका हौँ ।

त्यहाँ पनि केही कमजोरी भएको रहेछ भने हामी छफल गरेर समाधान गर्न तयार छौँ ।’ उहाँसले सुरुमै सबै डिजाइन माननीय थापालाई देखाएको स्मरण गराउनुभयो । ‘त्यतिबेला पनि उहाँले आफू निर्वाचित भएको क्षेत्रमा रहेको पोखरीलाई व्यवस्थित बनाउन महानगरपालिकाले ल्याएको योजना सफल बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले त अझ त्यहाँ सभा गर्न मिल्ने गरी मञ्च नै बनाउनु पर्ने प्रस्ताव गर्नुभएको थियो । मैले नै त्यसो नगरौँ भनेपछि उहाँहरु पछि हट्नु भएको हो ।’

पहिला पनि त्यहाँ सांसद थापालगायतको पहलमा विभिन्न चरणमा ढुंगा छाप्ने, सिँडी बनाउनेलगायतका काम भएको भन्दै त्यहाँ महानगरपालिकाले काम गर्नु भन्दा अघि नै कंक्रिट संरचना निर्माण भएको बताउनुभयो । ‘लामो समयदेखि ढलपोखरीका रुपमा रहेको सो पोखरी पुर्ननिर्माणसँगै त्यहाँका स्थानीय औधी खुशी भएका छन्,’ उहाँले भन्नुभयो, ‘स्थानीयको अहिले पनि अवरोध छैन । उनीहरु बहिरका मान्छे आएर चाहिने भन्दा बढी प्रचार गरी अवरोध गर्ने काम भएकोमा बरु असन्तुष्ट बनेका छन् । हामी अहिले पनि काम गर्ने सन्दर्भमा केही कमजोरी भएको रहेछ भने छलफल गरेर अघि बढ्न तयार छौँ । अहिले एकतर्फी रुपमा समाचार आउँदा त्यसले भ्रम पैदा भएको छ ।’

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि आफु काम रोक्नुर्पछ भन्ने पक्षमा नरहेको भन्दै समाधानको उपाय खोजी अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘पोखरी बनाउनुपर्छ भन्नेमा मेरो कुनै असहमती छैन,’ उहाँले भन्नुभयो, ‘म प्राविधिक मान्छे होइन । त्यसैले त्यहाँका बारेमा विभिन्न खाले समाचार आएपछि र त्यहाँ आन्दोलन गर्ने साथीहरुले भेट्ने भनेपछि मैले भेट गरेको हो । उहाँहरुले भेटेर विज्ञप्ति दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्