वितरण हुने भयो गरिबी परिचयपत्र



गुल्मी, (नेस)

गरिबका घर पहिचान गरी तथ्यांक संकलन गर्नका लागि प्रत्येक पालिकामा सुपरीवेक्षक तथा गणकहरुको छनोट भएसँगै गुल्मीमा गरिबी परिचयपत्र वितरण हुने भएको छ । आगामी असार मसान्तसम्म जिल्लाका सबै पालिकामा परिचयपत्र वितरण हुने भएको हो ।

छनोट भएका गणक तथा सुपरीवेक्षकका लागि तम्घासमा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सम्बन्धमा तालिमसमेत सञ्चालन गरिएको छ । तम्घासमा सञ्चालन गरिएको तालिममा सहभागीलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गाउँमा नम्र र शिष्ट भाषा प्रयोग गरेर तथ्यांक संकलन गर्न गणकहरुलाई निर्देशन दिनुभएको छ । प्रत्येक पालिकामा चारदेखि सात जनासम्म गणक नियुक्त गरिएको छ ।

गणकहरुले सफ्टवेयरमार्फत प्रत्येक परिवारका सदस्य, आम्दानी, वचत, आम्दानीको स्रोत, रोजगारीलगायतका विषयवस्तुको तथ्यांक लिइन्छ र जीपीएस प्रणालीबाट गणकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउँछन् ।
सफ्टवेयरबाट प्राप्त भएको तथ्यांकका आधारमा मन्त्रालयले गरिब र गैरगरिब परिवारको छनोट गर्छ ।

गरिब परिवारहरुलाई पनि गरिब, मध्यम गरिब र अति गरिब गरी तीन भागमा विभाजन गर्छ र उक्त तथ्यांक पालिकामा पठाउँछ । पालिकाले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेंलो तथा गरिब परिवारलाई हरियो कार्ड प्रदान गर्छ । अहिले जीपीएस प्रणालीबाट काम हुने भएकाले सही तथ्यांक संकलन हुने प्रशिक्षक सञ्जीवनी अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्