वीरगन्ज नाकाबाट ६ महिनामा ८० अर्बको निकासी



कृष्णउदास खनाल, वीरगन्ज ।

चालू आर्थिक वर्षको पहिलो छ महिनामा वीरगन्जबाट भारततर्फ करिब ८० अर्ब रुपियाँबरावरको विभिन्न्न माल सामान निर्यात भएको छ । उक्त अवधिमा ७९ अर्ब ८८ करोड ८ लाख ५२ हजार रुपियाँ बराबरको विभिन्न मालसमान भारततर्फ निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा वीरगन्ज नाकाबाट भटमासको तेल सबैभन्दा बढी भारततर्फ निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख महेश आचार्यले बताउनुभयो । कोरोना महामारीका कारण चालू आर्थिक वर्षको झण्डै ४ महिना वीरगन्ज नाकाबाट भारततर्फ हुने निकासीसमेत प्रभावित भएको आचार्यले बताउनुभयो ।

चालू आर्थिक वर्षको पहिलो छ महिनामा वीरगन्ज नाकाबाट मात्रै ११ अर्ब ५५ करोड ८१ लाख ३३ हजार मूल्य बराबरको ७ करोड ८३ लाख ४१ हजार ७ सय २९ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ । वीरगन्ज नाकाबाट बारा–पर्सा औद्योगिक कोरिडोरका १४ वटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् ।

गत आव २०७६/७७ को साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३ सय २ प्रतिशतले वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको वीरगन्ज भन्सार कार्यालयका भन्सार प्रमुख आचार्यले बताउनुभयो ।

त्यसैगरी वीरगन्ज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्राससहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, ऊनी गलैंचा, कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य वस्तु रहेका छन् । डाबरको जुस १ अर्ब ६४ करोड ८४ लाख ६० हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने च्यावनप्रास, त्रिफला, बतिसा ६६ करोड २० लाख १५ हजार मूल्य बराबरको निर्यात भएको छ ।

डाबर दन्त मन्जनमात्रै ५५ करोड ३० लाख २३ हजारको निर्यात भएको छ भने जमोठ कपडा ६६ करोड ६५ लाख ९५ हजार मूल्यबराबरको निर्यात भएको छ । यता, सेन्थेटिक यार्न ५० करोड २८ लाख ६२ हजार मुल्यको निर्यात भएको छ भने स्पोर्ट सुज नेपालबाट ४८ करोड ४६ लाख ८२ हजार मूल्य बराबरको निर्यात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । त्यस्तै आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीटलगायत वस्तुसमेत ठूलो परिणाममा भारततर्फ निर्यात हुने गरेको वीरगन्ज भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्