शेयर बजारको पुँजी झण्डै ३२ खर्ब



काठमाडौं, (नेस)

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । यस दिन नेप्से ३१ दशमलव ८७ बिन्दुले बढेर २३७४ दशमलव ६४ बिन्दुमा पुगेको हो । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख रुपियाँबराबर पुगेको छ ।

कुल २०९ कम्पनीको १ करोड ८१ लाखभन्दा बढी कित्ता शेयर ७ अर्ब ७९ करोड ८५ लाख रुपियाँभन्दा बढीमा किनबेच भएको छ । बिहीबार कारोबार भएका १२ समूहमध्ये दुई समूहको सूचक घट्दा बाँकी १० समूहको सूचक बढेको छ । समग्र परिसूचकमा उछाल आएको दिन नेप्सेमा प्रभाव राख्ने बैंकिङ समूह भने घटेको छ । यससँगै सामूहिक लगानी कोष समूह पनि ओरालो लागेको छ ।

बिहीबार डेढ दर्जन कम्पनीको शेयर मूल्य उच्च प्रतिशतमा बढेको छ । जसमध्ये सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९ दशमलव ९८, सिद्धार्थ इन्स्योरेन्स ९दशमलव ९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९ दशमलव ९६, गरिमा विकास लघुवित्त ९दशमलव ९६, आशा लघुवित्त ९ दशमलव ९६, गुराँस लघुवित्त ९दशमलव ९४, सूर्योदय लघुवित्त ९ दशमलव ९४ र इन्फिनिटी लघुवित्तको ९दशमलव ९४ प्रतिशतलेशेयर मूल्य बढेको छ ।

त्यस्तै नारायणी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो, बरुण हाइड्रोपावर, बैंक अफ काठमाण्डूलगायतका कम्पनीको शेयर मूल्य अन्य कम्पनीको तुलनामा प्रतिशतका आधारमा धेरै घटेको छ । कारोबारका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी अगाडि रहेको छ । सो कम्पनीको मात्रै ५३ करोड ३३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

साथै नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९९ लाख, शिखर इन्स्योरेन्सको २२ करोड ८२ लाख, नेसनल लाइफ इन्स्योरेन्सको २१ करोड ४४ लाख, प्रभु बैंकको २१ करोड ४३ लाख, नेपाल दूरसञ्चार कम्पनीको २१ करोड रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्