दुवाथलन सिरिज शनिबार कीर्तिपुरमा हुँदै



काठमाडौं, (नेस)

नेपाल ट्रायथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार हुने भएको छ । सो दुवाथन काठमाडांैको प्राचीन ऐतिहासिक शहर कीर्तिपुरको जखामा हुने भएको हो । स्थानीयस्तरमा स्थानीय संस्थाहरूसँग समन्वय गर्दै नवप्रतिभा पहिचानसहित खेलाडी उत्पादनका साथै खेल समुदायको विकास गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको सिरिजको पहिलो संस्करण काठमाडांैको उत्तरभेगीय प्राचीन शहर टोखामा सम्पन्न भइसकेको छ ।

प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुनेछ । यसैगरी, चौथो संस्करण टोखा, पाँचौं कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।

‘सिरिजको उद्देश्य प्रतियोगिता मात्र नभई नवप्रतिभाहरूको खोजी, खेल समुदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको विकास गर्दै राज्यलाई आर्थिक टेवा पु-याउने रहेको छ’– संघका अध्यक्ष नीलेन्द्र राज श्रेष्ठले बताए ।

कोभिड–१९ बाट विश्व नै आक्रान्त भइरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई ब्युझाउँदै स्वस्थ र रोग–प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सिरिजले सहयोग पुग्ने नेपाल ट्रायथलन संघका महासचिव युवराज सुनुवारले बताए । नेपाल ट्रायथलन संघ र जम्प नेसनबीच एक वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी लिनेगरी सहकार्यको सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्