सिटीको सहज जित



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित आत्मसात गरेको छ । बुधबार राति भएको लिगको १८औं साताको खेलमा सिटीले एस्टोन भिल्लामाथि २–० को सहज जित निकालेको हो । आफ्नो घरेलु मैदानमा सिटीलाई महत्वपूर्ण जित दिलाउने क्रममा बर्नान्डो सिल्भा र इकाई गुन्डोगानले समान एक–एक गोल गरे । सिटीले दुईवटै गोल खेलको अन्तिम ११ मिनेटमा गरेको थियो ।

सिटीका लागि खेलको ७९औं मिनेटमा बर्नान्डी सिल्भाले पहिलो गोल गरेका थिए । त्यस्तै, खेलको ९०औं मिनेटमा गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । यो जितपछि सिटीको १८ खेलपछि ३८ अंक भएको छ ।
बुधबार राति नै भएको अर्को खेलमा म्यानचेटर युनाइटेडले आफ्नो १९औं खेलमा जितको नतिजा निकाल्यो ।

युनाइटेडले फुलह्यामलाई २–१ ले पराजित गर्दै तीन बटुल्न सफल भयो । उक्त खेलमा एक गोलले पछि परेर पनि युनाइटेडले जितको नतिजा आत्मसात् गरेको थियो । खेलको पाँचौं मिनटमै लुकम्यानले गोल गर्दै फुलह्यामलाई शुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २१औं मिनेटमा काभानीले गरेपछि युनाइटेडले खेललाई बराबरीमा ल्याउन सफल भए । त्यस्तै, खेलको ६५औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाइटेडको जित सुनिश्चित बन्यो । यो जितपछि युनाइटेडको १९ खेलपछि ४० अंक भएको छ । यता पराजित फुलह्यामको भने १८ खेलबाट १२ अंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्