एपीएफको जितमा सावित्राको ह्याट्रिक



काठमाडौं, (नेस)

जारी राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले बराबरी खेल्दा नेपाल एपीएफ क्लबले शानदार जित हासिल गरेको छ । बिहीबार एन्फा मैदानमा भएको खेलमा विभागीय टिम एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको हो ।

सो जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरेकी हुन् । यो जारी लिगको पहिलो ह्याट्रिकसमेत हो । सावित्राले खेलको १४औं, ६२ औं र ७२ औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै, कप्तान अनिता बस्नेत, अन्जली योञ्जन र प्रीति राईले एक–एक गोल गरेका थिए ।

तर, दोस्रो खेलमा भने वालिङ र विराटनगरले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् । वालिङले अग्रता जोगाउन नसक्दा लिगको तेस्रो खेल बराबरीमा टुंगिएको थियो । वालिङले दोस्रो मिनेटमै सम्झना शर्माको गोलमार्फत् अग्रता लिएको थियो । तर, ६३औं मिनेटमा विराटनगरको लागि आशा कुमारीले बराबरी गोल फर्काइन् । उनले झन्डै २५ यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्