सौरभको शतकमा पुलिसको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल पुलिस क्लबले जारी पीएम कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । विभागीय टिम पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको हो । ३ सय ११ रनको विशाल लक्ष्य पाएको प्रदेश टिम लुम्बिनी ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रनमै समेटियो ।

सौरभ खनालले ७४ रन र कप्तान कृष्ण कार्कीले ४० रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् । सौरभले ६० बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । जबकि, नटआउट रहेका कृष्णले २४ बलमा ५ छक्का प्रहार गरेका थिए । कृष्ण र सौरभले सातौं विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए ।

सौरभले दीपेन्द्रसिंह ऐरीको अन्तिम तीन बलमा लगातार छक्का प्रहार गरेका थिए । चौथो बलमा पनि छक्काको आस गरेका उनी क्याच आउट हुन पुगे र उत्कृष्ट साझेदारी तोडियो । उनको विकेट पतनले जित्ने सम्भावना पनि सकिएको थियो ।
लुम्बिनीले जवाफी ब्याटिङमा पहिलो ओभरको चौथो बलमै सन्दीप सुनारलाई छिटै गुमाउन पुग्यो । उनी शून्यमा राशिद खानको बलमा आउट भएका थिए । राशिदले नै सातौं ओभरको चौथो बलमा सुशान्त सिंह थापालाई ४ रनमा एलबीडब्लू आउट गरे ।

तेस्रो विकेटका लागि सन्दीप रजाली र देव खनालले ६६ रनको साझेदारी गरेका थिए । स्पिनर सागर ढकालले सन्दीपलाई व्यक्तिगत ४० रनमा क्याच आउट गराएका थिए । सन्दीपले ७९ बलमा ६ चौका प्रहार गरे । त्यसपछि पवन सर्राफको बलमा आउट भएपछि देव अर्धशतक बनाउन एक रनले चुके । देवले ७१ बलमा ७ चौका प्रहार गरे । त्यस्तै, राजवीर सिंह ४५ बलमा २ चौकासहित २४ रनमा क्याच आउट भए । प्रनित थापा मगरले खाता खोल्न सकेनन् ।

पवनले ६ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । राशिदले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए । यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

टिमका लागि ओपनर सुनील धमलाले शतकीय इनिङ खेले । उनले १ सय ४५ बलमा ७ चौका र १ छक्कासहित १ सय ४ रन बनाएका थिए । उनले पीएमकप र राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार पूरा गरेका थिए । जारी प्रतियोगितामा भने दोस्रो शतक हो । हिजै गण्डकीविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीले जारी प्रतियोगिताको पहिलो शतक प्रहार गरेका थिए ।

अन्यमा दीपेन्द्र सिंहले ६१ बलमा ६ छक्का र १ चौकासहित ८५ रन जोडे । पवनले १३ बलमै अर्धशतक प्रहार गरे । उनी ६ छक्का र १ चौकासहित ५० रनमा अविजित रहे । आरिफ शेख १४ बलमा २ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।
ओपनर कुशल भुर्तेललाई कप्तान कृष्णले आउट गराएर टिमलाई पहिलो सफलता दिलाएका थिए ।

कुशल आउट हुँदा पुलिसले स्कोरबोर्डमा २७ रन जोडेको थियो । स्पिनर दीपेन्द्र रावत बलमा अमित श्रेष्ट व्यक्तिगत २८ रनमा आउट भएका थिए । त्यतिबेला पुलिस ८४–२ को स्थितिमा थियो । तर, पछि दीपेन्द्र, सौरभ र पवनले आक्रमक ब्याटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्