छंगु लँ स्वइच्वंगु मिखा सार्वजनिक



गायिका कल्पना श्रेष्ठको गीतको म्युजिक भिडियो सार्वजिनक गरिएको छ। गायिका श्रेष्ठको छंगु लँ स्वइच्वंगु मिखा (तिम्रो बाटो हेरिरहेको आँखा) बोलको गीतको म्युजिक भिडियो मध्यपुर थिमिका मेयर मदन सुन्दर श्रेष्ठले मध्यपुर ठिमिमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरेका हुन्।

श्रेष्ठले मध्यपुर ठिमि नगरपालिकाका कलाकारहरुको प्रतिभा उजागर गर्न आफूले सक्दो सहयोग गर्ने वचन दिँदै कलाकारले कलाकारिता क्षेत्रबाट, खेलाडीले खेल क्षेत्रबाट मध्यपुर ठिमिको शिर उचो बनाएको चर्चा गरे। ‘उहाँहरुको हौसला बढाउनु हामी जनप्रतिनिधिको कर्तव्य हो।’ –उनको भनाइ थियो।

सुषमा महर्जनले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार शशिकला मानन्धरले स्वागत मन्तव्य राखेका थिए। सिने पत्रकार एवं नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न असंबरेले पछिल्लो समयमा नेपालभाषाका म्युजिक भिडियो एकपछि अर्को गर्दै रिलिज भइरहेको चर्चा गर्दै नेपालभाषाका म्युजिक भिडियोहरुको संख्यामात्र नभई गुणस्तर पनि वृद्धि हुँदै गएको बताए। ईलोहं पब्लिकेसनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले आफ्नो संस्थाबाट कलाकारहरुको कला प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराए।

त्यसै गरी गायिका कल्पना श्रेष्ठले आफूले निकै मिहिनेत गरेर गीत तयार गरी दर्शक, स्रोतालाई सुम्पेको बताइन्। सार्वजनिक गीतमा संगीत विजय कायस्थको रहेको छ भने जुगल डंगोलले संगीत संयोजन र दर्शनवीर शाक्यले गीत रचनाका साथै म्युजिक भिडियोको कथावस्तुको परिकल्पनासमेत गरेका छन्।

छायांकन र सम्पादन मनोजरत्न शाहीको रहेको म्युजिक भिडियोको निर्देशन राजन शाहीले गरेका छन्। गीतको भिडियोमा कलाकार रवीन्द्र शाही, रेश्मी महर्जनका साथमा गायिका कल्पना श्रेष्ठले पनि अभिनय गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्