राजनीतिक माहोल र कोरोनाले थलिएको मुलुक



मानिसको जीवनमा कसैले सोचेको थिएन होला संसारमा कोभिड–१९ याने कि कोरोना भाइरसको रोगले गर्दा यति दुःख हुन्छ भनेर । हामीले सुनेअनुसार सय वर्षअघि पनि यस्तै रोगले संसारका कैयौं व्यक्ति पीडित भएका थिए, तर पछि वातावरण बिस्तारै ठीक हुँदै पनि गयो । आशा गरौं, अहिले पनि त्यस्तै होस् ।

कोभिड–१९ ले अझै पनि मानिसलाई तर्साइराखेको छ, भूतले पनि मनुष्यलाई यति तर्साइराखेको छैन, जुन यस भाइरसले मानिसको जीवनमा त्रास फैलाइराखेको छ । यति मात्र होइन, यो भन्दा कडा भाइरस अहिले केही देशमा अझ सक्रिय भइराखेको हामीले सुनिराखेका छौं । यसको मतलब यही नै मान्न सकिन्छ कि यो भाइरसले आफ्ना सन्तानहरु अझ बढाइराखेको मान्न सकिन्छ ।

हाम्रो मुलुकमा पनि कोभिड–१९ (कोरोना भाइरस) विदेशमा जस्तै छँदै छ । यसबाहेक राजनीतिक भाइरसहरु पनि उत्तिकै सक्रिय छन् । यसले गर्दा यहाँका नागरिक दोहोरो तरिकाले मारमा परिराखेका छन् । राजनीतिक हिसाबले हेर्ने हो भने, यहाँ पनि राजनीतिक विकृतिले गर्दा भूतले नागरिकहरुलाई तर्साएसरह समय–समयमा नागरिकहरु तर्सेर बस्नुपर्ने अवस्था आएको छ ।

सर्वप्रथम महँगीको कुरा गर्ने हो भने, अहिले आएर दुई तिहाइको सरकारको पालामा झन्–झन् महँगी बढेको नागरिकहरुले महसुस गरेका छन् । पसलैपिच्छे भाउ फरक छ । दिनहुँ सामानको मूल्य बढेको प्रत्यक्षरुपमा सबैले अनुभव गरिराखेका छन् । यसमा पनि दुई मत छ । एक पक्ष भन्छ– व्यापारी तथा व्यवसायीको मनोमानीले गर्दा मूल्य बढिराखेको छ । अर्को पक्ष भन्छ– सरकारको बेवास्ता तथा नालायकीपनले गर्दा मूल्यवृद्धि भइराखेको हो ।

अहिले यस्तो छ, भोलि मध्यावदी चुनाव हुने भयो भने कसो होला ? यो कुरा बुझ्न गाह्रो भएको छ । यस्तो बेला नागरिकहरुले व्यापारीलाई सही बाटोमा ल्याउने र सम्बन्धित निकायलाई निरन्तर प्रेसर दिने हो । यसबाहेक गफ दिने सरकारलाई समाजले पेल्न सक्नुपर्छ ।

दलहरुको जमातले पनि जनतालाई तर्साइराखेको हुन्छ । यहाँ नेताहरुका भाषण सुनेर कार्यकर्ता ताली बजाइराखेका हुन्छन्, जसरी मदारीको चटक हेरेर दर्शकहरुले ताली बजाउने गर्दछन् । तर हामी भन्छौं, यो ताली बजाउने समय होइन, स्वाभिमान भएर रोजगार सिर्जनाका लागि सरकारलाई प्रेसर दिने हो । अनि मात्र आउने पुस्ताहरुको भविष्य राम्रो हुन्छ । अन्यथा मुलुकको हाल सधैँ उस्तै हो । त्यसैले कार्यकर्ता मित्रहरु पनि परिवर्तन हुनु जरुरी छ ।

अहिले देशमा करको वातावरणले गर्दा पनि जनता तर्सेर बस्नुपर्ने भएको छ । एउटा राम्रो सरकारको काम करको दायरा बढाउने हो, जनताको घाँटी कस्ने होइन । अहिलेको लागि कर खुकुलो गर्नु नै उद्योग व्यवसायको द्रुत विकाव हो ।
यो मुलुकमा लोकतन्त्रपश्चात् रेमिट्यान्स तथा करले गर्दा देशमा निकै धन थुप्रिएको छ । तर यो धन नेताहरुको विलासिताका लागि नभएर जनताका आधारभूत आवश्यकता पूरा गर्नका लागि प्रयोग हुनुपर्ने हो । अन्यथा सरकारलाई अपच भएर बान्ता हुनसक्छ, यो त समयले देखाउनेछ ।

राजमार्गमार्फत यात्रा गर्दा सधैँ त्रासको वातावरण बनेको छ । तर सरकार राजमार्गको विकासतर्फ ज्यादै सुस्त देखिएको छ । अरु ठाउँभन्दा पहिला यस्ता ठाउँहरुमा राष्ट्रको धन खन्याउने हो । जस्तै– सरकारले पक्की पुल, राजमार्ग, सडकमा ओभर ब्रिज तथा वातावरणीय विकासमा रकम खर्च गर्नुपर्दछ ।

यो देशमा एउटा ठूलो विडम्बना के छ भने, नेताहरुले राष्ट्रको धन खर्चेर आसेपासे र कार्यकर्ता पालिराखेका हुन्छन्, आफ्नो दल बलियो बनाउन । तर यी गलत प्रक्रिया हुन् । जब दिनले साथ दिँदैन, समयले कोल्टो फेर्ने गर्दछ, तब यो चम्चा शक्तिले पनि केही गर्न सक्दैन । त्यसकारण बुद्धिविवेकले हरेक दलका नेताहरुले बुद्धि पु-याउनु जरुरी छ ।

यिनीहरुले एउटै कुरा सोच्नुपर्दछ कि कसरी देशमा रहेका बेरोजगारीलाई रोजगार दिने । यसको लागि पर्यटन तथा कृषि विज्ञहरुलाई अँगालेर द्रुत विकासका लागि गुरुयोजना तयार पार्नुपर्दछ । तर यहाँ त कुर्सीको लोभ, आफ्नो मान्छे, विलासिता आदिमा नै एकोहोरो भएर यिनीहरु हिँडिराखेका छन् । के यी नेताहरु जनताका कुरा सुन्दैनन् ? अखबार पढ्दैनन् ? जसले गर्दा राम्रा–राम्रा कुरा तथा सुझावहरु यिनीहरुका कानमा पुगोस् ।]

जब चुनावमा हार्छन् तबमात्र यिनीहरु नून खाएको कुखुराजस्तै अनि हारेको खलनायकजस्तै अरुलाई घुरेर बसिराखेका हुन्छन् । त्यसकारण हामी एकपल्ट फेरि भन्छौं– अनावश्यक गफ, झगडा आदिमा अल्झिएर नबस्नुस् । यसले नेताहरुको भविष्य खराब हुँदै जान्छ । आखिरमा आएर पढेलेखेको, बुद्धिजीवी, विज्ञहरुले लालच, स्वार्थ, कुर्सी हान्ने÷तान्ने संस्कारलाई छोडी शिक्षा, स्वास्थ्य, राजमार्ग, पानी तथा उद्योग व्यवसायको लागि योगदान र एड्भेन्चर गर्ने हो ।
– रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं ।

सडक निर्माण कार्यमा लापरबाही

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को कांग्रेस चोक र नयाँ मनकामना सडक निर्माण कार्यमा राज्यकोषको दुरुपयोग भएको छ । सडक निर्माणमा मापदण्डअनुसारको सामग्री प्रयोग भएको छैन । अनुगमन गर्ने निकाय र कार्यालयबाट पनि अनुगमन भएको छैन ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुखलाई मैले दुईपटक फोन गरेँ, सडक निर्माणमा चरम लापरबाही हुँदा पनि आयोजनाका कार्यालय प्रमुख चुप किन ? बाटो निर्माण गर्ने क्रममा खानेपानी पाइप बिग्रँदासमेत ठेकेदारले मर्मत नगरिदिने जस्ता लापरबाही भएको छ ।

पत्रकारलगायत अनुगमनकर्ताज्यू, सडक निर्माण गरेको ठाउँमा आएर हेर्नुहोस् । अनुगमन गर्नुहोस् । निरीक्षण गर्नुहोस् । म देखाउँछु, कहाँ–कहाँ के–के भएको छ भनेर । गुणस्तरीय सामग्रीको प्रयोग भएको छैन । ढलभित्र विद्युतीय पोल छ । यही हो सघन शहरी तथा भवन निर्माण आयोजनाको विकास ?

सडक निर्माणमा यस्ता धेरै त्रुटि देखिएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको प्रमुख इस्टिमेटमा खानेपानीको पाइप कति इन्चको छ भनेर सोध्दा इन्जिनियरलाई सोध्नु भन्नुहुन्छ । प्रमुखलाई इस्टिमेटमा खानेपानीको पाइप कति इन्चको हुन्छ भन्ने थाहा हुँदैन र ?

– राकेशकुमार शर्मा
हेटौंडा उमनपा–२, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्