स्टालिन सम्झाउने क्याफे एक दिन मात्र चल्यो



मस्को, (एजेन्सी)

रुसको राजधानी मस्कोमा खुलेको ‘दि स्टालिन डोनर सप’ खुलेको भोलिपल्टै जनदबाबका कारण बन्द गरिएको छ । यस क्याफेका मालिकले कम्युनिस्ट नेता जोसेफ स्टालिनको ब्रान्ड शैलीमा खोलिएको क्याफेमा स्टालिनलाई सम्झाउने खालका सामग्रीहरू देखेर मानिसहरू चिढिएको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन् ।

क्याफेकोे अग्रभागको ढोकामाथि नै विवादास्पद कम्युनिस्ट नेता स्टालिनको ठूलो तस्वीर झुन्ड्याइएको छ । त्यसैगरी, क्याफेभित्र स्टालिनकालीन सुरक्षाकर्मीका पोसाक लगाएका एकजना पुरुषले ग्राहकहरूलाई सोभियतकालीन नेताहरूका नाम राखिएका मासु सर्भ हुने व्यवस्था गरिएको थियो ।

क्याफे मालिक स्टानिस्लाभ भोल्टम्यान भन्छन्, ‘एकदिन हामीले पूरा खोल्यौं । करिब २ सयजना ग्राहकलाई सेवा पु-यायौँ । क्याफे बन्द गरिनुको पछाडि कुनै कानुनी कारण छैन । शुरूमा प्रहरीले त केवल स्टालिनका चिन्हरूहरू हटाउन आग्रह गरेको थियो । पछि स्थानीयले दबाब दिएर क्याफे नै बन्द गर्न बाध्य पा-यो ।’

स्टालिनको शासनकालमा ठूलो समूहमा जनतामाथि दमन, श्रम शिविर र भोकमरीका कारण बदनाम रहेको बताइएको छ । सन् १९३६ देखि १९३८ सम्मको भयानक आतंककालमा तत्कालीन सोभियत संघमा झन्डै ७० हजार मानिसलाई मृत्युदण्ड दिइएको थियो । तर, अधिकांश रुसी जनताले भने उनलाई अझै पनि दोश्रो विश्वयुद्धमा जर्मनीका हिटलरको नाजी फौजलाई पराजय गरेका कारण कुशल नेताको रूपमा सम्मान गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्