रोजगारी गुमाउनेलाई ‘गाउँ फर्क प्याराप्यारी’ अभियान



दुर्गाप्रसाद शर्मा, पर्वत ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ ले वैदेशिक रोजगारीमा पुगेका धेरै नेपालीको रोजगारी गुमेको छ । विदेशमा भएको रोजगारी गुमेपछि गाउँघर फर्कन चाहे पनि फेरि उही रोजगारीको चिन्ताले धेरै उतै बसेका छन् । तर पर्वतको महाशिला गाउँपालिकाले भने कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका युवायुवतीलाई गाउँमै रोजगारी दिन थालेको छ ।

‘गाउँ फर्क प्याराप्यारी’ अभियानअन्तर्गत पालिकाले २० देखि ५० वर्षसम्मका स्थानीयबासीलाई रोजगारी दिन थालेको हो ।
कार्यक्रममा कोरोनाबाट बढी प्रभावित बेरोजगार युवायुवतीलाई लक्षित गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिअनुसार कम्तीमा ३ वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुन सक्नेछन् ।

यसका लागि गाउँपालिकाले सबै टोलमा पुगेर ‘गाउँ फर्क प्याराप्यारी’ अभियानको सूचना प्रवाह गरिरहेको छ । कार्यक्रमबाट हालसम्म ६० जनाले रोजगारी पाइसकेका छन् भने १७ जनाले व्यवसाय गर्ने योजना पेस गरेको पालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताउनुभयो ।

कोभिडपछि भारतलगायत विभिन्न मुलुकबाट २ सय ५० जना गाउँ फर्किएकोको तथ्यांक गाउँमा छ । गाउँ फर्केका सबैले व्यवसाय नरोजेका कारण अन्य व्यक्तिलाई प्रधानमन्त्री रोजगार र महाशिला विकास स्वयंसेवकमा सहभागी गराई रोजगारी दिने योजना बनाइएको ठकुरीले बताउनुभयो । जग्गा जमिन नभएका तथा आफै रोजगारमूलक व्यवसाय गर्न नसक्नेका लागि पालिकामा हुने भवन, सडक, गोरेटो बाटो तथा खानेपानीलगायतका आयोजनामा क्षमता र सीपअनुसारको रोजगारी दिइएको छ ।

महाशिलाले विदेशबाट फर्केर आफै व्यवसाय गर्न चाहनेलाई ब्याज अनुदान, योजनामा आधारित अनुदान तथा प्रतिफलमा आधारित अनुदान दिने कार्यक्रम अघि सारेको छ । यसअघि महिला स्वयंसेवकलगायतका आकर्षक कार्यक्रम सञ्चालन गरेको महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेल नयाँ कार्यक्रमले गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेसाबाट आत्मनिर्भर बन्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

‘कोरोनाबाट घर फर्कन परे पनि विदेशमा सिकेको सीपलाई रोजगारीको नयाँ विकल्पका रुपमा अघि लैजान सहयोग पुग्छ’, अध्यक्ष पौडेलले भन्नुभयो– ‘गाउँमै केही गर्छु भन्नेलाई ब्याज सहुलियत, वैकल्पिक रोजगारीजस्ता विषयले अहिलेको समस्यालाई सम्बोधन गर्छ ।’

व्यवसाय गर्नेहरुले पनि गाईभैंसी न्यूनतम ३ वा सोभन्दा माथि, कुखुरा ५ सय वा सोभन्दा माथि, बंगुर ३० वा सोभन्दा माथि पाल्नुपर्ने व्यवस्था गरिएको छ । फलफूल तथा तरकारी खेती गर्न चाहनेले कम्तीमा ३ रोपनी क्षेत्रफलमा गर्नुपर्छ । पालिकाले बढीमा तीन लाखको १२ प्रतिशतको दरले अधिकतम २ वर्षको अवधिका लागि ब्याज अनुदान भुक्तानी दिने अध्यक्ष पौडेलले बताउनुभयो । कार्यक्रमका लागि चालू आवमा १० लाख रुपियाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्