शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ



हरिहर नेपाल, विराटनगर ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको छ । ५४ वर्षीय शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका–४ बाट विकलाई पक्राउ गरेको हो ।

चन्दा संकलनका लागि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काले बताउनुभयो । गत मंसिर २३ गते बर्खेका शिक्षक श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । श्रेष्ठको हत्यामा विकको सहभागिता रहेको प्रहरीको दाबी छ ।

घटनामा ६ जना सहभागी थिए । विप्लव समूहले उद्योगी व्यवसायीसँग चन्दा माग्दै धम्काएको सूचना आएको र सोही आधारमा अनुसन्धानका क्रममा एक जना पक्राउ परेको एसपी खड्काले बताउनुभयो । संखुवासभाको मादी नगरपालिका–४ घर भएका ३२ वर्षीय विक विप्लव समूहको मोरङ इन्चार्ज हुन् । शिक्षक हत्यालगत्तै उनको जिम्मेवारी फेरिएको थियो ।

घटना हुँदा उनी मेची कोसी ब्युरो सदस्य थिए । पक्राउ परेका विकको साथबाट अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउन्ड गोली बरामद भएको छ । चारवटा मोबाइल, ११ वटा सिम कार्ड पनि बरामद भएको छ भने को२४प ४००५ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीले अन्य पाँच जनाको खोजी तीव्र बनाएको जनाएको छ ।

२३ मंसिरमा घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जंगलमा हत्या भएको थियो । हत्यापछि उनको परिवार विस्थापित भएको छ । मिक्लाजुङका विप्लव समूहको गतिविधि बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यहाँ परिचालन गरिएको छ । पारिवारिक स्रोतका अनुसार विप्लव समूहविरुद्ध सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै श्रेष्ठको अपहरणपछि हत्या भएको छ । यसअघि शिक्षक श्रेष्ठको घरनजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुई नेतालाई हतियारसहित पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सैन्य अभ्यास गर्ने क्षेत्रका रुपमा मानिन्छ । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।

तर विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए । स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए । इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काशिनाथ घिमिरेलाई हतियारसहित पक्राउ परेको थियो ।

यस्तै गएको मंसिर ८ गते पनि मिक्लाजुङबाट बन्दोबस्तीका सामान खरिद गर्न उर्लाबारी आएका विप्लव समूहका सेक्सन कमान्डर ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङ्गे शेर्मा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्