जंगल युद्धकला तालिममा पहिलोपटक महिला सैनिक



गणेशबहादुर मल्ल, काठमाडौं ।

नेपाली सेनाले सञ्चालन गर्ने कठिन तालिममध्येको प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा पहिलोपल्ट महिला सैनिकले सफलता हात पार्नुभएको छ । बाराको अमलेखगन्जमा रहेको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ गतेदेखि सञ्चालित उक्त तालिममा सहभागी महिला सैनिक राधिका खड्काले पहिलोपटक सहभागी भई सफलतापूर्वक उक्त तालिम पूरा गरेको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाले यसअघि उक्त तालिममा पुरुष सैनिकलाई मात्रै सहभागी गराउँदै आएकोमा यसपटक महिला सैनिकलाई पहिलोपल्ट सहभागी गराएको थियो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ की राधिका २०६९ असार १५ गते नेपाली सेनामा भर्ती हुनुभएको थियो ।

सैनिक तालिमपछि २०७० जेठ २४ गतेबाट उक्त शिक्षालयमा कार्यरत रहनुभएकी उहाँले सोही शिक्षालयमा सञ्चालन भएको तालिममा सहभागी भएर तालिम पूरा गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारीरिक एवं मानसिक क्षमता माग गर्ने सिसं १०३ प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको पनि उहाँले जानकारी दिनुभयो ।

तीन महिना अवधि चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने तथा सर्पदंश व्यवस्थापनलगायत विभिन्न सैनिक ज्ञान र सीपहरु उक्त तालिममा सिकाउने गरिन्छ । निजले बिल्लादार ग्रेड–३ तथा लाइटमोटर ड्राइभिङ एन्ड मेन्टिनेन्स तालिमसमेत सफलताका साथ सम्पन्न गर्नुभएको छ ।

(प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया दिनुहोस्