सांसद किनबेचको खेल भएपछि संसद् विघटन : प्रधानमन्त्री ओली

पत्रकार भन्नेबित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्



काठमाडौं, (नेस)

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल शुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएको बताउनुभयो । उहाँले सांसद किनबेचनको खेललाई रोक्न संसद् भंग गरेर ताजा निर्वाचनमा जान लागेको बताउनुभएको हो ।

आफ्नो समूह निकट प्रेस संगठन नेपालको भेलालाई बिहीबार सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा सरकार दृढतापूर्वक लागेको बताउनुभयो । ‘हामी रातो झण्डा फहराउनेवालाहरु हौं । काला झण्डा बोकेर हिँड्नेवाला होइनौं ।

हामी उज्यालो र चम्किलो भविष्यको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौं । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ।’ –उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफै हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

पीत पत्रकारिता देशको ठूलो समस्या भएको उहाँको भनाइ थियो । प्रम ओलीले केही सञ्चारमाध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको आरोप लगाउँदै स्वार्थका लागि समाचार नलेख्न आग्रह गर्नुभयो । ‘यो पार्टीसँग निकट भएकाले म तपाईंहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्नेबित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्।’ –प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सबैलाई पत्रकारहरुले तिमी भन्ने गरेकोमा आपत्ति जनाउँदै ओलीले भन्नुभयो– ‘उहाँले खानुभयो भन्दैन थियौं, ज्युनार भयो । हिँड्नुभयो भन्दैनथ्यौं, सवारी भयो । आज हामीलाई हिँड्नुभयो, खानुभयो भन्न पनि गाह्रो छ । हिँडे, खाए । उनले हेरे, यस्तो भाषा मात्रै बोल्छौं ।’ उहाँले मानव समाज चराजस्तो नभएकाले सभ्य भाषा प्रयोग गर्न आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्