विमानस्थलमै भारतद्वारा १० लाख डोज खोप हस्तान्तरण



भगवती तिमल्सिना, काठमाडौं ।

भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार मध्याह्न एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको छ । १० लाख डोज खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई विमानस्थलमै हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी रहने बताउनुभयो । उहाँले खोपका लागि भारत सरकारलाई धन्यवाद दिँदै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दुई साताअघिको भारत भ्रमणले कोरोना खोप भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मन्त्री त्रिपाठीले एक हप्तादेखि १० दिनभित्रै नेपालमा खोप लगाउन शुरु गरिने र यो खोप लगाइसक्दा अर्को खोपको व्यवस्था गरिसक्नका लागि तत्काल थप खोपको खरिद प्रक्रिया अगाडि बढाइने बताउनुभयो । मन्त्री त्रिपाठीले भारत सरकारबाट उपहार प्राप्त कोरोनाविरुद्धको भ्याक्सिन आफूले कोरोना युद्धका फ्रन्ट लाइनरलाई सुम्पिने बताउनुभयो ।

नेपाल–भारतको खुला सिमाना भएकाले भारतका जनताले खोप लगाएर नेपालले लगाएन भने कोरोनाविरुद्धको लडाइँ भारत एक्लैले जित्न सक्दैन भन्दै उहाँले भारत सरकारले अघि बढाएको यो सहकार्यको प्रशंसा गर्नुभयो । मन्त्री त्रिपाठीले भन्नुभयो– ‘आधारभूत जनसंख्यालाई निःशुल्क खोप दिने सरकारको प्रतिबद्धता पूरा गरेरै छोड्छांै ।’ उहाँले सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार सम्प्रेषण गरी सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

सोही अवसरमा भारतीय राजदूत क्वात्राले भारत सरकारको ‘छिमेकी फस्ट’ भन्ने नीतिअनुसार नेपाललाई खोप सहयोग गरेको बताउनुभयो । उहाँले पनि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको समयमा गरिएको प्रतिबद्धताअनुसार नै खोप एक साताभित्रै नेपाललाई उपलब्ध गराएको बताउनुभयो ।

उक्त खोप अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप भएको जानकारी गराइएको थियो । बिहीबार बिहान साढे ९ बजेदेखि नै कोरोनाविरुद्धको खोप नेपाल भित्र्याउन स्वास्थ्य मन्त्रालयको टोली तामझामका साथ तैनाथ भएको थियो । कोरोनाविरुद्धको खोप नेपाल भित्रिने खबर सञ्चारमाध्यममा छाएसँगै बिहान १० बजेदेखि नै अन्तर्राष्ट्रिय विमानस्थलमा एक सयभन्दा बढी सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

विमान अवतरणसँगै विमानस्थल पुग्नुभएका मन्त्री त्रिपाठीले सञ्चारकर्मीलाई खोप हस्तान्तरणदेखि विशेष भ्यानमा राखिएको दृश्य खिच्नका लागि सहज बनाउन भूमिका खेल्नुभएको थियो । भारतले उपलब्ध गराएको खोप विमानबाट झार्नासाथ सीधै दुईवटा रेफ्रिजेरेटर भ्यानमा राखी टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारणका लागि लगिएको थियो ।

एक भाइल खोपमा दश डोज हुने र कोलचेन मेन्टेन भण्डारणबाट निकाली प्रयोगका लागि खोलिएपछि ६ घण्टाभित्र प्रयोगमा आइसक्नुपर्ने र नसकिएमा नष्ट गर्नुपर्ने डा. तिनकारीले बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा सफाइकर्मीलाई खोप दिइनेछ ।

त्यसपछि, कोरोनाको जोखिममा रहेका व्यक्तिहरू जसमा, प्रहरी, उद्योग, कलकारखानामा खटिने कर्मचारी, शिक्षक, व्यापारी, सर्वसाधारणलाई दिइने पनि बताउनुभयो । भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप विमानस्थलबाट सीधै टेकु लगिएको थियो । खोप सुरक्षाका लागि कोल्डचेन मेन्टेन गरी राखिने व्यवस्था गरिसकिएको डा. तिनकरीले जानकारी गराउनुभयो । दुईपटक लगाउनुपर्ने यो खोप पहिलो खोप लगाएको ४ हप्तामा दोस्रो डोज लगाइसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्