बाइडेनको शपथग्रहण समारोहमा भव्य कन्सर्ट



नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा भव्य सांगीतिक कार्यक्रम पनि आयोजित भएको थियो । लेडी गागाले जेनिफर लोपेज र गार्थ ब्रुकससँगै राष्ट्रिय गीत गाएकी थिइन् । यसैगरी, अमेरिकाकै पहिलो राष्ट्रिय युवा कवियत्री २२ वर्षीया एमान्डा गोम्र्यानले आफ्नो रचना ‘दि हिल वि क्लाइम्ब’ वाचन गरेकी थिइन् ।

त्यसैगरी, ‘सेलेव्रेटिंङ अमेरिका’ नामक साँझ वासिङ्टन डीसीको लिंकन मेमोरियलमा आयोजित कन्सर्ट टेलिभिजनबाट ९० मिनेटसम्म प्रसारण गरिएको थियो । हलिवुड कलाकार टम ह्यान्क्सद्वारा सञ्चालन गरेको सो कन्सर्टमा ब्रुस स्प्रिंगस्टिन, जोह्न लेजेन्ड, जान बोनजोभी, जस्टिन टिम्बरलेक र डेमी लोवाटोेले गाएका थिए भने कार्यक्रममा भव्य आतिशबाजी पनि गरिएको थियो ।

सो कन्सर्ट उत्सवको हिसाबमा भन्दा राष्ट्रिय एकता र कोभिड–१९ महामारीको समय अग्र मोर्चामा रहेर स्वास्थ्यलगायत अन्य विभिन्न क्षेत्रमा सेवारत व्यक्तिहरूप्रति सम्मान प्रकट गर्नुमा बढी केन्द्रित रहेको बताइएको छ । आप्रवासीहरूका ठूलो आशाको केन्द्र मानिएका नवनिर्वाचित राष्ट्रपति बाइडेनले सार्वजनिक गर्न लागेको भनिएको बृहत् अध्यागमन सुधारको प्याकेजले लाखौं कागजपत्रविहीनलाई ग्रिन कार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बाटो खुल्ने भएको बताइएको छ ।

सो प्याकेज उल्लेखित विधेयक कार्यान्वयन हुनका लागि अमेरिकाको दुवै संसद्का दुवै सदनबाट पारित हुन भने जरुरी छ ।
बाइडेनले समर्थन गर्ने यो विधेयक पारित भएमा १ जनवरीसम्म अमेरिकामा रहेका कागजपत्रविहीन आप्रवासीहरू यसको माध्यमबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनेछन् ।

यदि, यो प्याकेज पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत् प्याकेज हुनेछ । सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त विधेयकले ३० लाख कागजपत्रविहीनलाई वैद्यता प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्