कार्यव्यवस्था समितिको बैठक निष्कर्षबिहीन : अविश्वास प्रस्ताव टेबुल नगरे संसद्मा धर्ना



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशसभा कार्यव्यबस्था परामर्श समितिको बैठक निष्कर्षबिहीन टुंगिएको छ । बिहीबार बसेको समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावलाई संसद्को बैठकमा तुरुन्त टेबुल गर्ने भन्ने विषय निष्कर्षबिहीन बन्न पुगेको हो ।

बुधबारको प्रदेशसभाको सातौं अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै दलका प्रचण्ड–माधव नेपाल समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वास प्रस्ताव पनि अन्यौलमा परेको हो । तर, प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभाका दल सहमत भए पनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरेको आरोप छ । बैठक सञ्चालनका लागि बिहीबार करिब साढे ४ घण्टा बसेको कार्यव्यबस्था परामर्श समिति बैठकमा प्रदेशसभा सञ्चालनका लागि सहमत भए पनि सभामुख श्रेष्ठले बहानाबाजी गर्दै आनाकानी गरेको आरोप सांसद्हरुले लगाएका ह्न् ।

प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बुद्धिमान माझी र नेपाली कांग्रेसका सदस्यहरु छिरिङ दोर्जेलामा, पुकार महर्जन, साझा विवेकशीलकी शोभा शाक्य, राप्रपाकी रिता माझीले मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई शुक्रबार नै छलफलका लागि टेबुल गर्नुपर्ने माग गर्नुभएको थियो ।

उहाँहरुले उक्त प्रस्तावमाथि सामान्य छलफल गरी अर्को हप्ता प्रक्रियामा लगेर टुंग्याउन सभामुखलाई आग्रह गर्नुभयो । बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले सभामुख श्रेष्ठले ‘शक्तिकेन्द्र’ बाट फोन आएका कारण सभामुखको मनस्थिति बदलिएको बताउनुभयो । शुक्रबारको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने भएकाले सभामुख श्रेष्ठले यसलाई पर धकेल्न खोजेको बैठकमा सहभागीहरुको अनुमान छ ।

प्रचण्ड–माधव पक्षका प्रदेशसभा सदस्यहरुले आफूुहरुले अनुरोध गर्दागर्दै सभामुख श्रेष्ठले शुक्रबार ११ बजेभित्र बैठक आह्वान नगरे प्रदेशसभा सभाकक्षमा प्रवेश गर्ने मुलढोकामा धर्ना दिने चेतावनी दिएका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावलाई संसद्मा छलफलका लागि तुरुन्त टेबुल गर्नुपर्ने माग गर्नुभएका उहाँहरुले सभामुख श्रेष्ठले उपेक्षा गरे संसद्कक्षमा प्रवेश गर्ने मुलढोकामा सुकुल/गुन्द्री ओच्छ्याएर धर्ना दिने चेतावनी दिनुभएको छ ।

संसद् बैठकका लागि प्रदेशसभा सचिवालयले बिहीबार अपराह्न ४ बजेभित्र सूचना जारी गर्नुपर्ने प्रावधान रहे पनि उक्त विषयमा सूचना सार्वजनिक गरिएन । प्रचण्ड–माधव पक्षका प्रदेशसभा सदस्यहरुले शुक्रबार संसद्कक्ष प्रवेश गर्ने मुलढोकामा धर्ना दिने तयारी गरेका छन् ।

संसद्मा रहेका सबै दलका सदस्यहरुले शुक्रबार ११ बजे बैठक सञ्चालन हुनुपर्ने पक्षमा मत राखेका थिए । तर, सभामुखले थप छलफल गर्नुपर्ने भनेपछि बैठक कहिले सञ्चालन हुन्छ भन्ने अनिश्चित भएको नेपाली कांग्रेस सचेतक छिरिङ दोर्जेलामाले बताउनुभयो ।

अविश्वास प्रस्ताव सम्बन्धि कार्यविधि मस्यौदा समितिको बैठकले कार्यविधिलाई टुंगो लगाएको संयोजक लामाले जानकारी दिनुभयो । अविश्वास प्रस्तावका प्रस्तावक नेकपा सांसद् शालिकराम जम्कट्टेलले सभामुखको आलोचना गर्नुभयो । मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहबाट पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा १ सय १० सदस्य छन् । जसामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २ र स्वतन्त्र सांसद् एक छन् ।

प्रतिक्रिया दिनुहोस्