संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने खतरा : अध्यक्ष केसी



यमलाल भुसाल, बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने चेतावनी दिनु भयो ।सरकारको संसद विघटनको कदम असंबैधानिक ,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै अध्यक्ष केसीले यो कदम नसचिए २०६२।६३को आन्दोलनका उपलब्धी गुम्ने खतरा बढेको दावि गर्नु भयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले विहिवार बुटवलमा आयोजित प्रतिनिधी सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न विषयक अन्र्तक्रियामा वोल्दै उहाँले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउनुभयो ।
ओली र प्रचण्डको स्वार्थ पुरा नहुंदा देश दुर्घटनातर्फ उन्मुख भएको समेत उहाँले बताउनुभयो ।

अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको बताउनुभयो ।
अध्यक्ष केसीले गणतन्त्रमाथी ३ वटा शक्तिवाट खतरा बढेको भन्दै पहिलो राजावादी , दोस्रो विदेशी हिन्दु अतिवादी र तेस्रो वामपन्थी संकिर्णवादी शक्तिवाट हमला भएको खुलासा गर्नु भयो ।

वामपन्थी संकिर्णवादी शक्तिहरुको नियत प्रतिगामी नभएपनि उनिहरुको गणतन्त्रमाथीको हमलाबाट अन्तमा राजावादीहरुको आन्दोलनलाई नै मद्दत पुग्ने निश्चित भएको उहाँले ठोकुवा गर्नु भयो । मुलुकमा स्थिर सरकार कायम राख्न, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न तथा प्रतिगमनकारी शक्तिको कदमलाई परास्त गर्नका लागि अग्रगमनका पक्षधर शक्तिहरुका बीच कार्यगत एकता गरि संयुक्त आन्दोलनलाई अगाडी बढाउनु आजको राष्ट्रिय आवश्यकता भएको अध्यक्ष केसीले जोड दिनु भयो ।

हाल सम्मका उपलव्धीहरुको रक्षागर्नु प्रमुख दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता असफल सिद्व भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरेहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको उहाँले टिप्पणी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्