निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने



कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको परिवारले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने भएका छन् । मृत्युपछि आर्यघाटसम्मको यात्रा सहज होस् भन्ने उद्देश्यका साथ निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायी गोपाल हमालले जानकारी दिनुभयो ।

“मृत्युपछि मानिसले सम्मानसहित जाने व्यवस्था मिलाउनका लागि निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने तयारी भएको हो”, व्यवसायी हमालले भन्नुभयो,“महाप्रस्थान यान सञ्चालनको लागि रु ३० लाख लगानी लाग्नसक्छ । ” केही समयपछि कुनै सङ्घ संस्थाले महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालन गर्ने जिम्मा लिन्छु भने हस्तान्तरण गरिने व्यवसायी हमालको भनाइ छ । चालू आर्थिक वर्षभित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो । निःशुल्क यान सञ्चालन गर्न सम्पर्क व्यक्तिका रुपमा कैलाली उद्योग वाणिज्य सङ्घका सचिव सिद्धराज पनेरुलाई तोकिएको र सञ्चालन खर्च हमाल परिवारले नै व्यहोर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्