काभ्रेमा यसरी थालियो मध्यावधी निर्वाचनको तयारी



मोतीराम तिमल्सिना, काभ्रे ।

सरकारले बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेसँगै त्यसको तयारी शुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले काभ्रेपलाञ्चोकले मध्यावधी निर्वाचनको तयारी स्वरुप राजनीतिक दलहरु सम्मिलित सर्वदलिय बैठक सम्पन्न गरेको छ ।

पौष २८ गते सम्पन्न पहिलो बैठकले माघ ७ गते बुधबार दोश्रो बैठक बस्ने निर्णय गरेको थियो । मध्यावधी निर्वाचनका लागि २ लाख ८२ हजार ५ सय ५५ मतदाता सुचिकृत भएका छन् । २०७४ मा २ लाख ७२ हजार २ सय ९२ मतदाताले भाग लिने अवसर प्राप्त गरेका थिए ।

  • १ सय ८९ वटा मतदान स्थलमा ३ सय ५० मतदान केन्द्र तोकियो
  •  मतादाता नामावलीमा दावी विरोध माघ १५–२४ सम्म
  •  २ लाख ८२ हजार ५ सय ५५ मतदाता

‘२०७४ सालमा सम्पन्न निर्वाचनमा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरुका बारेमा सुझाव सहित प्रस्तुत हुने निर्णय भएको थियो’–जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले भन्नुभयो–‘२०७४ सालकै निर्वाचनमा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरुका बारेमा छलफल भएको छ । केहि स्थान बाहेक अधिकांश मतदान केन्द्र पुरानै कायम भएको छ । भुकम्प तथा अन्य कारणबाट केहि मतदान केन्द्र फेरबदल भएका छन् ।’

२०७४ सालमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ३ सय ५० वटा मतदान केन्द्र चयन भएका थिए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले १ सय ८९ वटा मतदान स्थलमा ३ सय ५० वटा मतदान केन्द्र चयन गर्ने निर्णय गरेको हो ।

बैठमा जिल्ला स्तरीय राजनीतिक दलका प्रतिनिधिहरु, पालिकाका प्रमुख एवं प्रतिनिधिहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा मतदान स्थल र मतदान केन्द्र फेरबदल गर्ने सन्र्दभमा फरक फरक धारणा प्रस्तुत गरिएको थियो । मध्यवाधी निर्वाचनमा थप मतदान केन्द्र निर्धारण गर्दा राज्यलाई ब्यवहार थप हुने निश्कर्ष निकालिएको छ ।

बैठकमा मतदाता नामावली दाविविरोध गर्ने, अद्यावधिक गर्ने निर्णय गरेको छ । पुष ५ गते देखि मतदाता नामावली थप गर्न रोक लगाए पछि जिल्लामा मतदाताहरुको नामावली अद्यावधिक शुरु गरिएको हो । माघ १६ र १७ गते हरेक पालिकामा सहायक नाम दर्ता अधिकारी मार्फत मतदाताहरुको नामावली गलत भएको भए, दोहोरो परेको भए वा अन्य केहि भएको अवस्थामा दावि विरोध गर्ने अधिकार दिईएको छ ।

संकलित दावि विरोधलाई माघ २४ गते निर्वाचन कार्यालयमा उपलब्ध गराउने गरी तयारी गरिएको छ । मतदाताहरुलाई जिल्ला निर्वाचन कार्यालयले आफ्नो मतदातामा नामावली सहि भए नभएको हेर्न र दावि विरोध गर्न अनुरोध गरेको छ । नागरिकता बनाएसँगै मतदाता नामावलीमा फोटो खिचाउनेहरुले १८ वर्ष नपुगी मतदानमा भाग लिन पाउने छैनन । जिल्लामा फोटो खिचाएर मतदाता सूचीमा नपर्नेहरुको संख्या धेरै छ ।

जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा, प्रदेश सभा चारवटा रहेका छन् । प्रत्येक प्रतिनिधि सभामा दुई दुईवटा प्रदेश सभा रहेका छन् । उक्त निर्वाचनका लागि २ हजार ८ सय कर्मचारी र ३ हजार ५ सय सुरक्षाकर्मीको तयारी आवश्यक छ ।

यस्तो थियो २०७४ को चुनावी तयारी

२०७४ मसिंर २१ गते सम्पन्न भएको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुई वटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचनका लागि २ हजार ८ सय कर्मचारी खटिएका थिए । ३ सय ५० मतदान अधिकृत, ३ सय ५० सहायक मतदान अधिकृत सहित थप १ हजार १ सय १४ स्वयंसेवकहरु खटिएका थिए । निर्वाचनका लागि ४ सय नेपाली सेना, ४ सय शशस्त्र, १ हजार १ सय नेपाल प्रहरी, १ हजार ५ सय १६ म्यादी खटिएका थिए ।

२ लाख ७२ हजार २ सय ९२ मतदाता रहेका थिए । प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा १ लाख ३३ हजार ७ सय ७८ मतदाता थिए । प्रदेश सभा १ मा ३६ वटा वडामा ४४ वटा मतदान स्थल र ८६ वटा मतदान केन्द्र थिए । प्रदेश सभामा ६६ हजार २ सय ८५ मतदाता थिए । त्यस्तै प्रदेश सभा २ मा ६७ हजार ४ सय ९३ मतदाता थिए ।

३३ वटा वडा कार्यालय अन्र्तगत ५० वटा मतदान स्थल र ८८ वटा मतदान केन्द्र थिए । प्रतिनिधि सभा १ मा ६९ वटा वडा कार्यालयमा ९४ वटा मतदान स्थलमा १ सय ७४ वटा मतदान केन्द्र तय भएका थिए । तिनै केन्द्रहरुलाई मध्यावधी निर्वाचनका लागि तय गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा झण्डै ५ हजार मतदाता थप भएका छन् ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा १ लाख ३८ हजार ५ सय १४ मतदाताका लागि ९५ वटा मतदान स्थल र १ सय ७६ वटा मतदान केन्द्र रहेका थिए । ६६ वटा वडा कार्यालय रहेको उक्त क्षेत्रको प्रदेश सभा १ मा ६७ हजार २ सय १ मतदाता थिए । ३६ वटा वडा कार्यालयमा ५१ वटा मतदान स्थल र ८९ वटा मतदान केन्द्र थिए ।

प्रदेश सभा २ मा ७१ हजार ३ सय १३ मतदाता रहेको उक्त सभामा ३० वडा कार्यालय रहेका थिए । ४४ वटा मतदान स्थल र ८७ वटा मतदान केन्द्र रहेको उक्त क्षेत्रमा अधिकांश नगरपालिकाहरु पर्दछन् । सुरक्षाका हिसावले संवेदनशिल, अति संवेदनशिल र सामान्य अवस्थामा विभाजन गरी निर्वाचनको तयारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्