घिरिङ जितपुरबासीको खानेपानी समस्या हट्यो



मिला दरै, तनहुँ ।

घिरिङ गाउँपालिका–४ जितपुरमा विगतदेखिको खानेपानी समस्या हटेको छ । एक÷डेढ घण्टा लगाएर खानेपानीको जोहो गर्दै आएका जितपुरबासीको घरघरमा धारा पुगेसँगै समस्या टरेको छ । अन्य काम नै नगरी पानीको जोहो गर्नुपर्ने महिलाहरुलाई सजिलो भएको ६५ वर्षीया स्थानीय सुकमाया थापाले बताउनुहुन्छ ।

‘वर्षौंदेखि पानीको समस्या झेल्दै आए पनि आँगनमा धारा आउँदा धेरै खुसी लागेको छ, हाम्रो दुःख बुझ्ने नेताहरु आइपुग्नुभएको छ जस्तो लागेको छ।’ –थापाले भन्नुभयो । खोला, खोल्सीसमेत टाढा हुँदा वस्तुभाउलाई पानी खुवाउनसमेत समस्या भएको उहाँ बताउनुहुन्छ ।

त्यस्तै ३० वर्षीया खिना डिसुवा भन्नुहुन्छ– ‘घन्टौं लगाएर पानीको जोहो गर्नुपर्दा छोराछोरीलाई विद्यालय पठाउनसमेत भ्याइ नभ्याई हुन्थ्यो, अहिले घरमै धारा आएपछि सजिलो भएको छ ।’ ‘पानीको जोहो गर्दा छोराछोरीलाई विद्यालय जाने बेलासम्म पनि कहिलेकहीं खाना पाक्दैन थियो, भोकै पठाउनुपर्ने अवस्था थियो, धारामा पानी आएपछि सधैं समयमा खाना खुवाएर विद्यालय पठाउन सकेको छु, अरु काम पनि गर्न भ्याएको छु।’ –डिसुवाले भन्नुभयो ।

करिब ७ सय मिटर टाढाको धारादी मुहानबाट लिफ्टिङ गरी गाउँसम्म ल्याएर जितपुरबासीको घरघरमा पानी विरतण गरिएको जितपुर धारादी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार उक्त मुहानको पानी जितपुरका ३३ घरधुरीलाई वितरण गरिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङको पहलमा जितपुरमा खानेपानीको व्यवस्था भएको अध्यक्ष थापाले बताउनुभयो । गण्डकी प्रदेश सरकारको २५ लाख रुपियाँको लागतमा उक्त खानेपानी गाउँसम्म ल्याउन सकिएको उहाँले बताउनुभयो ।
आयोजनाको गण्डकी सभा सदस्य सरिता गुरुङले बुधबार उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य गुरुङले विगतदेखि स्थानीयले खेप्दै आएको समस्या समाधान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । पानीको समस्याले महिलाहरुलाई सबैभन्दा बढी प्रभाव पार्ने गरेको उहाँको भनाइ छ । ‘पानीको समस्या भएका क्षेत्रका महिलाहरुले बाहिरी कुराको जानकारी लिनसमेत पाउनुहुँदैन, सचेत हुनुपर्ने अवस्थामा समेत सचेतनाका कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्न, विगतदेखि नै यहाँको पानीको समस्या देखेर चिन्तित रहेको थिएँ, आज पूरा गर्न पाउँदा म पनि हर्षित भएको छु’, गुरुङले भन्नुभयो– ‘विगतमा पानीकै कारण कार्यक्रमहरुमा उपस्थिति जनाउन नसक्ने महिलाहरु घरमा पानी आएसँगै सहभागिता जनाउने विश्वास लिएको छु ।’

‘अब फलफूल लगाउनुहोस् ताजा र अग्र्यानिक सागपात तथा फलफूल खानुहोस्, सीपमूलक तालिमका लागि पनि समय निकाल्नुहोस्, सीप सिकेर आर्थिकरुपमा आत्मनिर्भर बन्नुहोस्, विदेश जाने श्रीमान्लाई पनि आर्थिक सहयोग गर्न सक्ने महिला बन्नुहोस्।’ –उहाँले भन्नुभयो । विगतमा हेफर एडीबीको कार्यक्रमसमेत लिएर यो ठाउँलाई सहयोग गर्दै आएको र अझै पनि सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले विगतदेखि नै पानीको समस्या रहेकोमा धारामा पानी ल्याइएसँगै समस्या टरेको बताउनुभयो । थापाले पानीकै कारण यस क्षेत्रको विकासमा समेत समस्या परेको थियो तर अहिले पानी घरघरमा आएसँगै सहज भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्