राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन माग



नेपाल समाचारपत्र, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन माग गरेको छ । यसअघि आह्वान गरेको सबै निवेदन खारेज गरी नयाँ प्रक्रियाबाट चालू आवका लागि आवेदन माग गरेको छ ।  मन्त्रालयमा बसेको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रक्रिया पूरा गरी प्राप्त निवेदनबाहेक अन्य निवेदन खारेज गरी नयाँ प्रक्रिया शुरु गरेको छ । राष्ट्रपति कार्यालयबाट करिब दुई दर्जन आवेदन आएको थियो ।

यसअघि गत वर्ष आवेदनबाट प्राप्त ३ हजार १ सय ४७ वटा निवेदन खारेज गरिएको छ । निर्देशक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नयाँ प्रक्रियाबाट आवेदन माग गर्ने निर्णय भएअनुसार शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरेको हो ।

यसअघि आएको सबै निवेदन खारेज भएको केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । चालू आवको बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५ अर्ब १० करोड रुपियाँ बजेट छुट्याइएको छ । अघिल्लो वर्ष स्थानीय तहमार्फत ३ सय ४५ आवेदन प्राप्त भएका थिए ।

त्यसबाहेक केन्द्रको इमेल, हुलाक र अन्य माध्यमबाट करिब २ हजार बढी आवेदन परेका थिए । मन्त्री श्रेष्ठले चालू आवमा काम गर्ने गरी आवेदन माग गर्न निर्देशन दिनुभएको थियो । सोही आधारमा केन्द्रले आवेदन माग गरेको हो ।
महानिर्देशक अर्यालले १५ दिनभित्र निवेदन आइपुग्ने गरी सूचना सार्वजनिक गरेको जानकारी गराउनुभयो ।

सूचनामा सबै कागजात यही २० गतेभित्र तयार गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम कार्यान्वयन गर्ने विषयमा चासो देखाएलगत्तै मन्त्री श्रेष्ठले प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । तीन दिनअघि मन्त्रालयमा बसेको बैठकले सूचना सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगकी सदस्य (शिक्षा) उषा झा, शिक्षा सचिव गोपीनाथ मैनाली, अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना, संघीय मामिला मन्त्रालयका सहसचिव, शिक्षा मन्त्रालय योेजना महाशाखाका सहसचिव डा. तुल्सी थपलिया, केन्द्रका महानिर्देशक अर्याललगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यविधिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेको ६ सदस्यीय समिति रहने उल्लेख छ । कार्यविधि जारी भए पनि गत वर्षको कोभिड–१९ का कारण कार्यान्वयन हुन सकेको थिएन । यसअघि केन्द्रले गएको फागुनमा सूचना जारी गरेको एक महिनामा झन्डै ३ हजार बढी आवेदन परेको थियो ।

गत वर्ष करिब १० अर्ब ४४ करोड रुपियाँको योजना माग गरेको थियो । केन्द्रले भौतिक पूर्वाधार, विद्यार्थीको सिकाइ उपलब्धिस्तर अभिवृद्धि, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन र सिकाइ सामग्री व्यवस्थापन र प्राविधिक तथा व्यावसायिक शिक्षामा पहँुच अभिवृद्धिलाई प्रस्तावको आधार तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्