पढ्ने बानी बसाल्न यसो गर्नुहोस्



मानिसलाई सबैभन्दा बढी फुर्सद राति सुत्ने बेलामा हुन्छ । यो समयमा मानिसले जुन कुरालाई महत्व दिन्छ, उसले त्यही कुरा प्राप्त गर्छ । वैज्ञानिकका अनुसार मानिसले सबैभन्दा बढी सुत्ने समयमै नेट चलाउने गर्छ । र, राति सुत्ने बेलामा नेट चलाउँदा निद्रामा अवरोध सिर्जना हुन्छ ।’

शास्त्रअनुसार राति सुत्ने बेलामा मानिस जुन अवस्थामा सुत्छ, भोलिपल्ट उठ्दा त्यही भावमा हुन्छ । राति नेटको प्रयोग गरेर प्राप्त भएका तनावको प्रभाव भोलिपल्ट त्यो मानिसमा पर्छ । त्यसैले राति सुत्ने बेलामा यस्ता विषयहरुको अध्ययन गरौं, जसले मनमा उत्साह जगाओस्, सिर्जनशील काम गर्न प्रेरणा देओस् र सकारात्मक भाव पैदा गरोस् । राति आफूलाई रुचि भएका कुरा पढ्दै जाने हो भने त्यसले जीवनमा राम्रो प्रभाव पार्दै जान्छ ।

यसको सबैभन्दा राम्रा उदाहरण हुन्, सफ्टवेयर किङ बिल गेट्स । बिल गेट्स कहिल्यै पनि सुत्नुअघि नेट चलाउँदैनन् । उनी सुत्नुअघि जहिल्यै अध्ययन गर्छन् । उनको विचारमा नेटमा सामान्य सूचना मात्र पाइन्छ । गम्भीर ज्ञानका लागि पुस्तक नै पढ्नुपर्छ । शायद यो कुरा उनले धेरै अघि बुझेका थिए र विश्वप्रशिद्ध भए ।

बिल गेट्स मात्रै होइन, चर्चित बिलेनियर वारेन बाफेट पनि दैनिक ४ घन्टा पढ्छन् । यति व्यस्त मानिसले कुनै पुस्तकलाई २० मिनेट दिनु नै महत्वपूर्ण कुरा हो । तर, बफेटजस्तो व्यस्त मान्छेले ४ घन्टा दिनुको अर्थ हो, पुस्तक अध्ययनले मानिसलाई अरुभन्दा फरक बनाउँछ ।

जो मान्छे जति बढि अध्ययनशील भयो, उसले उति नै पढ्ने भएकाले बिल गेट्सले आफ्ना सन्तानलाई जहिल्यै पुस्तक पढ्न प्रेरित गरे । बिल गेट्सले हामीलाई कम्प्युटर र मोबाइल दिए । हामी उनका कुरा चलाउँछौं । उनी भने नयाँ–पुराना, पूर्वीय–पाश्चात्य पुस्तक पढिरहन्छन् । यही अवस्था आइफोनका निर्माता स्टिभ जब्सको पनि थियो । उनी पनि निरन्तर अध्ययन गर्दथे ।

अझ रोचक कुरा त कम्प्युटर, ट्याबजस्ता माध्यममा डिजिटल पुस्तक पढ्नुभन्दा साँच्चिकै पुस्तक (हार्ड कपी) पढ्नु राम्रो हुने पाइएको छ । अध्ययनमा डिजिटल पुस्तक पढ्ने बालबालिकाको सिक्ने क्षमता ‘हार्ड कपी’ वा कागजी किताब पढ्ने जति नहुने उल्लेख छ । हार्ड कपी पढेका बालबालिकामा डिजिटल पुस्तक पढ्ने बालबालिकाभन्दा आफ्नो कुरा अरूलाई सजिलै सुनाउन र नजानेको कुरा तोकेरै सोध्न सक्ने क्षमता बढी हुन्छ । यति मात्र होइन, हार्ड कपी पढेका बालबालिकाले सामाजिक वातावरणलाई राम्रोसँग बुझ्ने र सहयोगीको भावना बढी हुन्छ ।

सानै उमेरदेखि पढ्ने बानी लागेका बालबालिका किशोर हुँदा पनि बाबुआमासँग समुद्र वा बगैंचामा घुमेजस्तै पढाइमा पनि रमाउँछन् । सानै उमेरमा बालबालिकाको सिकाइ र उनीहरूका लागि पुस्तकमा लगानी गर्नु भविष्य बलियो बनाउनु हो ।
जब तपाईं राम्रो किताब पढ्नुहुन्छ, तब यसले तपाईंको मनलाई आनन्द महसुस हुन्छ र तनावबाट आराम मिल्छ । यो वैज्ञानिक रुपबाट पनि साबित भएको छ । नियमितरुपमा केही समय किताब पढ्नाले तपाईंलाई तनाव कम गर्नमा मद्दत मिल्छ । यसले तपाईंको हृदयको गतिलाई पनि कम गर्दछ ।

पुस्तकहरुको विविधता यति धेरै छ कि हामीले के गर्दा के पढ्ने भनेर छुट्याउन सक्छौँ । घुम्दा पढ्ने, घरमा गहिरो अध्ययन गर्ने, रेस्टुराँमा पढ्ने विषयहरु कि त किताब कि त इबुक छुट्याउनुपर्छ । यसरी ठाउँअनुसार, मुडअनुसार र इबुक वा किताबलाई छुट्याउन थाल्नुभएपछि तपाईंको पढ्ने जाँगर पनि बढ्दै जान्छ । जति पढ्दै गयो, उति धेरै नयाँ कुरा थाहा हुँदै जान्छ । यसै समय खेर फाल्नुभन्दा पढ्नुका फाइदा बुझ्दै जानुहुन्छ ।

– मुकुन्द शाही, थापाथली ।

प्रतिक्रिया दिनुहोस्