खोपमा चनाखो बनौं !



विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको एकवर्षे अवधिमा दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन् जसमा २० लाखभन्दा बढीले ज्यान गुमाएका छन् । वैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप पत्ता लगाई मानव जातिमा प्रयोग गर्न शुरु गरेसँगै कोरोना भाइरसले पनि रूप परिवर्तन गरेकाले वैज्ञानिकहरुलाई अर्को चुनौती थपिएको छ ।

उपचार नै नलाग्ने भाइरस फैलिएका कारण विश्वका मानव जातिलाई यो अवधि निकै कष्टकर रह्यो । यस अवधिमा विश्वका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोपको विकल्प नभएकाले खोप उत्पादन नभएसम्म सक्दो सुरक्षा अपनाएर कोरोनासँगै जिउने तरिका सिकाउनुको विकल्प रहेन ।

कोरोनाविरुद्धको खोप पत्ता लगाई झन्डै २ महिनादेखि मानव शरीरमा आपत्कालीन परीक्षण शुरु भइसकेको छ । कोभिड–१९, जसलाई सार्सकोभ–२ को जेनेटिक प्रक्रिया अध्ययन गरी वैज्ञानिकहरुको सल्लाहमा ठूला राष्ट्रले खोप बनाएका हुन् । विश्वभरि झन्डै ३ सय प्रकारका खोप विकास भएका छन् र यीमध्ये ६८ वटा खोप क्लिनिकल ट्रायल अर्थात् तेस्रो चरणमा छन् भने सबै विधि पूरा गरेका १० वटा खोप विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भई बजारमा प्रतिस्पर्धामा उत्रेका छन् ।

यद्यपि खोपको विकाससँगै नयाँ भाइरस फैलिनु अर्को चुनौतीको विषय बनेको छ । कोरोनाविरुद्धको खोप उत्पादक मुलुक र धनी मुलुकहरुले ठूलो परिणाममा खोप खरिद गरी भण्डारण राखेको विषयमा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।
यसरी खोप उत्पादक तथा धनी मुलुकले आफ्ना मुलुकका जनतालाई मात्र प्राथमिकतामा राख्दा खोपको असमान वितरण भएको भन्दै विश्व नैतिक असफलताको नजिक रहेकोतर्फ विश्व स्वास्थ्य संगठन चिन्तित देखिन्छ । बेलायतमा देखापरेको नयाँ भाइरस हाल ५० देशमा फैलिसकेको छ ।

अफ्रिका र जापानमा पनि बेलायतमा ‘म्युटेसन’ भएका भाइरसभन्दा फरक किसिमका भाइरस देखिएको चर्चा बाहिरिएसँगै नेपालमा पनि तीन जनामा प्रमाणित भएको छ । यसले उत्पादित खोपको प्रभावकारितालाई समेत अन्योलमा पारेको स्वास्थ्य विज्ञहरुको ठम्याइ छ । विश्व स्वास्थ्य संगठनले पनि जापानमा देखिएको नयाँ भाइरसको म्युटेसनपछि २०२० भन्दा २०२१ झनै कठिन हुने पूर्वानुमान गरेको छ ।

बेलायतमा ‘लकडाउन’ गरेता पनि गत साता बुधबार १ हजार ५ सय ६४ जनाको मृत्यु भयो । यो एक वर्षको अवधिमा सबैभन्दा बढी मानिसको मृत्यु भएको रेकर्ड हो ।विश्वव्यापीरूपमा छोटो समयमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको खोप रोग प्रतिरोधात्मक क्षमता विकास गराउने खालको हो ।

हाल देखापरेको नयाँ भाइरस पहिलाको भन्दा बढी खतरनाक र छिटो फैलने भएकाले खोपको प्रभावकारितामा नै समस्या त ल्याउँदैन भन्ने विषयमा चिन्ता थपिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललगायत विश्वकै भाइरसको विभिन्न प्रकृतिको अध्ययन गरी खोप उत्पादन र वितरण कार्यको थालनी गरेको छ । हाल नेपालमा ल्याउन स्वीकृति दिइएको खोप अस्ट्राजेनिकाले पठाउँदै छ । यसमा नेपालले पनि चनाखो भई खोपको प्रभावकारिताका विषयमा थप अध्ययन गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्