काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा थापा



काठमाडौं, (नेस)

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उहाँलाई उपकुलपति नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसका आधारमा उहाँलाई उपकुलपति नियुक्त गरेको हो ।

उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहनुभएको थियो । काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्राध्यापन पेसा गर्दै आउनुभएका प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गर्नुभएको हो । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिस्ट्रार हुनुभएको थियो ।

थापाले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफू लागिपर्ने बताउनुभयो । उहाँले हाल देखिएका समस्या समाधान गर्न आफू हरसम्भव लागिपर्ने बताउँदै त्यसका लागि पूर्वउपकुलपति, प्राध्यापक संघलगायतसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्