भारतले उपलब्ध गरायो १० लाख डोज कोरोना खोप



नेपाल समाचारपत्र, काठमाडौं ।

भारत सरकारले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेसँगै नेपाललाई पहिलो प्राथमिकतामा राखी आज बिहीबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई १० लाख डोज खोप अनुदानस्वरुप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
बुधबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

भारत सरकारको अनुदानमा नेपालमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप आउने र ३ साताको अन्तरमा २ डोज लगाउनुपर्ने स्वास्थ्यमन्त्री त्रिपाठीले बताउनुभयो । भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोग भइरहेको छ । नेपालमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी, एम्बुलेन्स चालकसहित ५ लाख जनालाई खोप लगाउने कार्यतालिका बनाइएको उहाँले जानकारी गराउनुभयो ।

नेपालको कुल जनसंख्याको १८ वर्षमाथिका ७२ प्रतिशत नागरिकलाई खोप दिने तयारी भएअनुरुप पहिलो प्राथमिकता स्वास्थ्यकर्मी र कोरोनाको फ्रन्टलाइनमा काम गर्नुपर्ने व्यक्तिहरु रहेको पनि मन्त्री त्रिपाठीले जानकारी गराउनुभयो । कोरोनाविरुद्धको खोप लगाउनका लागि नेपाल सरकारले कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक समस्याको समाधान गरी पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो ।

मन्त्री त्रिपाठीले भन्नुभयो– ‘यो काम नेपाल र भारतबीचको मित्रताको एउटा अविस्मरणीय उदाहरण हो । आगामी दिनमा पनि भारत सरकारको यस्तै सहयोग निरन्तररुपमा हामीलाई चाहिन्छ ।’ अनुदानबाहेकको खोप खरिद प्रक्रिया पनि अघि बढिसकेको र पारदर्शी हुने उहाँको भनाइ थियो ।

सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ७७ जिल्लाबाट एकैसाथ खोप अभियान सञ्चालन गर्न जिल्ला अस्पतालमा बुथ राखेर दिनमा एउटा बुथबाट एक सय जनालाई खोप दिने तयारी भएको बताउनुभयो । धेरै स्वास्थ्यकर्मी भएका ठाउँमा भने बुथ थपेरै भए पनि खोप समयमै दिने उहाँले बताउनुभयो ।

कोरोना संक्रमणविरुद्धको खोप पनि अन्य खोपजस्तै लगाउने भएकाले पहिला खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीलाई थप तालिम दिई ८ हजार स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणविरुद्धको खोपलाई विशेष प्राथमिकतामा राखी झन्डै ८ हजार स्वास्थ्यकर्मीलाई तालिम दिइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यो खोप गर्भवती तथा स्तनपान गराइरहेका महिलाबाहेकलाई दिइने कार्यक्रम तय भएको छ । साथै सरकारले कोरोनाविरुद्धको खोप १८ वर्षमुनिका, गर्भवती, स्तनपान गराइरहेका महिला र एलर्जी समस्या भएका व्यक्तिलाई नदिने पनि जनाएको छ । ‘तर कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मी गर्भवती महिला हुनुहुँदोरहेछ भने खोप दिइन्छ, स्वास्थ्यकर्मीका हकमा अवस्था हेरी गर्ने निर्णय हो।’ –प्रवक्ता डा. गौतमले भन्नुभयो ।

खोपको मात्रा पहिलोपटक शून्य दशमलव ५ मिलिलिटर परिमाणमा दिइनेछ । साथै खोप लगाएको आधा घण्टासम्म स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ । केही समस्या वा साइड इफेक्ट भए थप उपचारका लागि कहाँ लैजाने, के गर्ने भन्नेबारे सबै तयारी मन्त्रालयले गरेको छ ।

कुनै पनि व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाउँदा समस्या भए सरकारले थप उपचार गर्छ तर त्यसका कारण कुनै हानी पुग्यो या मृत्यु नै भयो भने त्यसको जिम्मेवारी सरकारले नलिने हुँदा खोप स्वैच्छिक हुने डा. गौतमले बताउनुभयो ।
कोरोना भाइरसविरुद्ध लगाइने खोप कोलचेन मेन्टेन गरिराख्नुपर्ने हुनाले भारतको उत्पादन कम्पनीदेखि कोलचेन मेन्टेन व्यवस्थापन गरिएको गाडीमार्फत विमानस्थलबाट विमानमा पनि कोलचेन मेन्टेन गरी नेपाल पु-याइन्छ ।

नेपालको एयरपोर्टबाट भण्डारसम्म पु-याउँदा पनि कोलचेन मेन्टेन विधि अपनाएर ल्याउने र भण्डारण गर्ने कार्य गर्छ । यति मात्र नभई भारतबाट कोलचेन मेन्टेन गरिएको साधनमा राखी नेपालको नाकामा रहेका भण्डारसम्म ल्याई त्यही राख्नका लागि सरकारले २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भण्डार तय गरेको छ । यसका लागि २० प्रतिशत जनसंख्यालाई पुग्ने भ्याक्सिन भण्डारण क्षमता तयार पारिएको मन्त्रालयले जनाएको छ ।

२ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भ्याक्सिन ल्याउन सके नेपालमा अहिले भएका कोल्डरुम पर्याप्त पुग्छ । त्यसका लागि मन्त्रालयले केन्द्रमा भ्याक्सिन राख्ने क्षमता, भ्याक्सिन स्टोर र उपत्यकाबाहिरका जिल्लामा भ्याक्सिन पु¥याउन रेफ्रिजिरेटर भ्यान तयार गरिसकेको डा. गौतम बताउनुभयो । उहाँले भन्नुभयो– ‘२ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५ सय र ३ हजार ७ सय ५० लिटर भण्डारण क्षमता भएको कोल्डरुम तयारी अवस्था राखिएको छ ।

उक्त कोल्ड रुम एउटामा २८ लाख ७३ हजार ५ सय ६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण गर्न मिल्छ । यसका साथै विराटनगरमा रहेका तीनवटा कोल्डरुममध्ये एउटा कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ । उक्त कोल्डरुममा २ हजार २ सय ५० लिटर क्षमता छ, जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्न सकिन्छ ।’

मन्त्रालयका अनुसार पथलैया, बारामा रहेका तीनवटै स्टोरमा कोभिड भ्याक्सिन भण्डारण गर्ने तयारी छ । त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ समेटिनेछ । तीनमध्ये दुइटा कोल्डरुममा ३ हजार ७ सय ५० लिटर भण्डारण क्षमता छ, जसका लागि तीनवटा रुम छुट्याइएका छन् । पहिलोमा १४ लाख ३६ हजार ७ सय, दोस्रोमा ७ हजार ५ सय र तेस्रोमा २८ लाख ७३ हजार ५ सय डोज भ्याक्सिन भण्डारण क्षमता छ ।

त्यसैगरी पोखरा, बुटवल र धनगढीमा एउटा कोल्डरुम छुट्याइएको छ । त्यसमा २ हजार २ सय ५० लिटर क्षमताको छ । उक्त रुममा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्न मिल्छ । नेपालगन्ज र सुर्खेतमा ३ हजार ७ सय ५० लिटर क्षमताका कोल्डरुम तयार गरिएको छ । जहाँ १४ लाख ३६ हजार ७ सय डोज भ्याक्सिन भण्डारण क्षमता रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्