खोटाङका वडा भवनहरु निर्माण ब्यवसायी ढिलासुस्ती



रामधन राई, खोटाङ ।  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित नौं वडाहरुमा निर्माण सम्पन्न गर्ने म्याद सकिँदा समेत कार्यालय भवन निर्माणले गति लिन सकेको छैन ।

नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुई वटा मात्र निर्माण सम्पन्न भएको छ ।
आफ्नै पक्की भवनवाट कार्यालय सञ्चालन गर्ने उदेश्यका साथ नगरपालिकाले २०७७ पुस मसान्तमा सक्ने गरी ११ वडामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण शुरु गरेको थियो । निर्माण व्यवसायीका लापारवाहीले काम सम्पन्न हुन सकेको छैन । ११ भवनमध्ये वडा नम्बर–१३ नुनथला र वडा नम्बर–१२ जालपामा बाहेक अन्य वडामा भवन निर्माण हुन नसकेको जनाईएको छ ।

प्रकाश थापा प्रतिनिधि रहेका सजिव निर्माण सेवाले सम्झौता गरेको वडा नम्बर १५ विजयखर्कको अन्तिम चरणमा पुगे पनि सम्पन्न हुन नसकेको नगरपालिकाको योजना शाखा प्रमुख सीताराम आचार्यले बताउनुभयो । यस्तै, केशव तमोटको इन्द्र लक्ष्मी कन्ट्रक्सन र दिनेश पौडेलको पी. आर. कन्ट्रक्सनको संयुक्त फर्मबाट ठेक्का सम्झौता भएको वडा नम्बर–१ दिक्तेलको कार्यालय भवन भर्खर पिलर हालिएको छ ।वडा नम्बर–२ सोल्माको भवन भने अन्तिम चरणमा पुगेको नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । वडा नम्बर–४ खाल्लेमा भर्खर घडेरीमात्र सम्याएर छाडिएको जनाइएको छ ।

स्थान विवादका कारण भवन निर्माण कार्यमा ढिला भएको स्थानीयले जानकारी दिएका छन् ।यता कर्ण खत्रीको रुजन निर्माण सेवा र दिलचक्र राईको दोर्पा निर्माण सेवाको संयुक्त ठेक्का सम्झौता भएको वडा नम्बर–७ दोर्पा, वडा नम्बर–८ बुवासुङ तथा वडा नम्बर–९ निर्मलीडाडाँको भवनको समेत अवस्था उस्तै रहेको छ । वडा नम्बर ७ दोर्पाको भवन अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।वडा नम्बर–८ बुवालुुङको भवन भने एक तला ढलान सकिएको जनाइएको छ । वडा नम्बर–९ निर्मलीडाँडामा भर्खरै डिपिसि गरिएको छ । उक्त भवन निर्माणका लागि शुरुमा दिलचक्र राईले काम हेरे पनि अहिले रमाहाङ राईले काम गरिरहेको जनाईएको छ ।

यसैगरी, जोसेफ रिजालको मोहोन एण्ड व्यासीगाउँ निर्माण सेवाले ठेक्का लिएको वडा नम्बर–१० पाथेका र वडा नम्बर–११ खार्मीको भवन पनि अलपत्र अवस्थामा छ । सम्झौता मिति सकिए पनि कानूनतः तीन महिना म्याद थपिने र थपिएको समयमा समेत काम सम्पन्न नभए कानून अनुसार कारवाही गर्दै निर्माण कम्पनीलाई कालो सूचिमा राखिने मेयर दीपनारायण रिजालको भनाई छ ।

भवनका लागि नगरपालिकाले प्रत्येक वडामा ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो । पन्ध्र वडा रहेको नगरपालिकाको वडा नम्बर–३ बाम्राङ, वडा नम्बर–५ लफ्याङ, वडा नम्बर–६ नेर्पा र वडा नम्बर–१४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्न भवन सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्