खेलकुद पत्रकारमाथि अभद्र व्यवहार



जारी पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समाचार संकलनका क्रममा खेलकुद पत्रकारमाथि अभद्र ब्यवहार गरिएको छ ।
आयोजक नेपाल क्रिकेट संघका एक जिम्मेवार सदस्यबाट समाचार संकलन गर्न पुगेका खेल पत्रकारमाथि गरिएको निन्दयीय व्यवहारमा नेपाल खेलकुद पत्रकार मञ्चको गम्भिर ध्यानाकर्षण भएको छ । प्रतियोगिता अन्तर्गत मंगलवार मूलपानी क्रिकेट मैदानमा कर्णाली र गण्डकी प्रदेश विचको खेल सम्पन्न भएपश्चात नियमित पोष्ट म्याच प्रेस कन्फ्रेन्स भयो ।

खेल पत्रकारले कर्णालीका प्रशिक्षकसंग अन्तर्वार्ता लिइरहेका बेला बाग्मति प्रदेश क्रिकेट संघका सदस्य अजयबीर पाण्डेले ’कति चाहिने नचाहिने प्रश्न गरिरहेको ?’ भन्दै आक्रामक रुपमा प्रस्तुत भएर पत्रकार सम्मेलनमा हस्तक्षेप गरे । ’मिडिया जोन’ मा अन्तर्वार्ता चलिरहेको बेला उनले गरेको सो अभद्र ब्यवहारको खेलपत्रकारहरुले विरोध गरेका थिए।

पाण्डे त्यतिमा रोकिएनन्, पत्रकार सम्मेलन अवरुद्ध भएपछि त्यहाँबाट हिँडेका पत्रकारहरुलाई उनले फेरी अभद्र ब्यवहार गरे । पत्रकारहरुले प्रतिकार गर्न खोज्दा धम्किको भाषा प्रयोग गरे । मञ्च पाण्डेले गरेको सो कार्यको घोर भत्सर्ना गर्दछ र उनिमाथि कडा भन्दा कडा कारवाहीको माग गर्दछ ।

पाण्डे पीएम कप प्रतियोगिताको एन्टि करप्सन युनिट (एसीयु) कमिटीका सदस्य पनि हुन् । यस सन्दर्भमा संघका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुर्यालसंग छलफल हुंदा उनीहरुले पाण्डेको हरकतबारे ध्यानाकर्षण भएको जनाएका छन् र छानविन गरी दोषी भेटिए कारवाही गर्ने वचनवद्धता प्रकट गरेका छन् । मञ्च पुन दोषी माथि कारवाही गरी खेल पत्रकारहरुलाई सुरक्षित रुपमा सुचना संकलन गर्ने वातावरण बनाउन संघसंग माग गर्दछ।

प्रतिक्रिया दिनुहोस्