श्रीमती बेचिइन्, श्रीमानले गरे आत्महत्या



नेपाल समाचारपत्र, बाँके ।

बर्दियाकी ३५ वर्षीया महिला श्रीमान्सँगै ज्यालादारी काम गर्थिन् । एक दिन आफन्ती नै पर्ने व्यक्तिले विदेशमा गएर यत्तिकै काम गर्दा राम्रो कमाइ हुन्छ भनेर सहानुभूति दर्साए । घरकै काममा पठाइदिन्छु भने । श्रीमान्–श्रीमतीका बीचमा छलफल भयो । आफ्नै मान्छेले घरको काममा लगाइदिने र पैसा पनि राम्रो हुने बताएपछि उनीहरु कन्भिन्स भए । विदेशमा पनि यही आफ्नो घरमा गरेको काम गर्ने त हो नि भन्ने श्रीमान्–श्रीमतीको निष्कर्ष निस्कियो ।

सुन्दर सपना बोकेर महिला घरबाट निस्किन् । बिछिया नाका हुँदै भारत प्रवेश भयो । दलालले उनलाई बेंग्लोर, मुम्बई हुँदै दिल्ली पु¥याए । प्रायः दलालले दिल्लीबाट नै नेपाली चेलीलाई खाडी लैजान्छन् । यी महिलालाई श्रीलंका पु-याइयो । श्रीलंकाबाट कुवेत लगियो । कुवेतमा एउटा घरमा राखियो । केही नयाँ मान्छे आए । उनीहरुले हाम्रो गाउँघरमा पशुलाई किन्दाजसरी तलमाथि हेरे । साहुले छान्यो । १ हजार दिनारमा कुरा मिलेछ । सीधा भाषामा भन्दा महिला बेच–विखनमा परिन् । उनलाई साहुले लिएर गयो ।

घरमा लगेपछि उनलाई चौबीसै घण्टा काममा घोटाइयो । खाना पनि राम्ररी दिइएन । सबैले खाना खाइसकेपछि बचेको खाना पाउन पनि मुस्किल हुन्थ्यो । कैयांै दिन त डस्टबिनमा फालेर गन्हाएको खाना नाक थुनेर झिकेर खाइन् । शारीरिक, मानसिक यातना दिइयो । मानवीयता देखाइएन ।

महिलाले बडो दुःख पाइन् । एक दिन घरमा श्रीमान्लाई फोन गर्ने मौका मिल्यो । श्रीमान्लाई फोन गरेर जसरी पनि आफूलाई नेपाल फर्काउन भनिन् । दुःख–पीडा सुनाइन् । श्रीमतीको पीडा कुन श्रीमान्ले सुन्न सक्छ र ? श्रीमान् दलालको घरमा पुगे । जसरी पनि श्रीमतीलाई नेपाल फर्काइदिन अनुनय विनय गरे । तर, दलालले भने– ‘दुई वर्षसम्म नेपाल फर्काउन सकिँदैन । यदि अहिले नै नेपाल फर्काउने भए ६ लाख रुपियाँ चाहिन्छ ।’

श्रीमान्ले ६ लाख रुपियाँ खोज्न गाउँ चाहारे । गरिबलाई कसले पत्याउने ? पैसा जम्मा गर्न सकेनन् । फेरि दलालको घरमा गए । दलाल आफन्ती नै थिए । फेरी अनुनय विनय गरे । यसपालि दलालले उनलाई कुटेर पठायो । एकातिर श्रीमतीको पीडा, अर्कोतिर त्यही श्रीमतीलाई पीडामा पठाउने दलालको कुटपिट । श्रीमान्ले हार खाए । उनले आत्महत्या गरे ।

महिलाको दुःख–कष्टमा परिवर्तन आएन । एक दिन उनी यसै मर्ने उसै मर्ने भन्दै मालिकको चार तले घरको पाइपबाट झुन्डिएर तल ओर्लिइन् । घरबाहिर निस्किइन् । बाटोमा ट्याक्सी रोकिन् । शुरुमा आफूलाई लगेर राखेको र बेचेको कार्यालय (घर) मा पु¥याइदिन आग्रह गरिन् । ट्याक्सी चालकले यौन सम्पर्क गर्न दिएमात्रै पु-याइदिने बतायो । महिलाले उनको कुरा मानिन् । ट्यक्सी चालकले यौनशोषण ग¥यो र उनले भनेको ठाउँमा पु-याइदियो ।

बेच्ने कार्यालयमा पुगेपछि आफूलाई घर फिर्ता पठाइदिन आग्रह गरिन् । त्यहाँका मानिसले आनाकान गर्न थाले । महिलाले त्यही मर्ने जिद्दी गरिन् । त्यसपछि कार्यालयका मानिसले महिलालाई नेपाली दूतावासमा पठाइदिए । दूतावासमा तीन महिनापछि महिला नेपाल फर्किन् । दुबईबाट नेपाल फर्किंदा जहाजमा भेटिएकी नेपाली महिलालाई सबै दुःखपीडा सुनाइन् ।

्तीर महिलाले उनलाई काठमाडौंमा आएपछि भाडा र छोराछोरीलाई चक्लेट किनेर दिइन् । रित्तो हात विदेश हिँडेकी महिला रित्तो हात नै घर फर्किइन् । यो बीचमा पाइन् त दुःख, पीडा र हन्डर । घरमा आइपुग्दा श्रीमान् थिएनन् । छोरीलाई सोधिन्– ‘बाबा खोई ?’ छोरीले पोखरा काममा गएको बताइन् ।

आउँदाआउँदै श्रीमान् बितेको खबर गर्न उचित ठानिएन । उनलाई पनि ज्यालादारी काम गर्ने श्रीमान् पोखरा गएको होला भन्ने विश्वास भयो । केही समयपछि आफन्तीले बेलिविस्तार सुनाइदिए । उनलाई छाँगाबाट खसेजस्तो भयो । विदेशको भूत अनि आफन्ती दलालको विश्वासमा पर्दा गाउँघरमा ज्याला मजदुरी गरेर चलेको परिवारको स्वरूप नै बदलिन पुग्यो । महिलाले दलालविरुद्ध मानव बेच–विखनविरुद्धको मुद्दा दायर गरिन् । दलाल अहिले कारागारमा रहेका छन् ।

गाउँघरमा दुःखजिलो गरेर बसेको परिवारलाई दलालको प्रवेशले तहसनहस नै बनाइदियो । ४१ वटा संघ–संस्था आवद्ध महिला तथा बालबालिका बेच–विखनविरुद्ध सहकर्मी समूह, नेपाल (एटविन) ले मानव बेच–विखनका पीडितको पहिचानसम्बन्धी अनुसन्धान गर्ने क्रममा यो घटनालाई बाहिर ल्याएको छ । एटविनले बाँके, काठमाडौं र रूपन्देही जिल्लामा अनुसन्धान गरिरहेको छ । अधिकारकर्मी प्रकाश उपाध्याय र निर्मला पौडेलले यस्ता घटनाको खोजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्