ऋचाको जिब्रो काट्ने धम्की



बलिउड अभिनेत्री ऋचा चढ्डा अभिनित नयाँ फिल्म म्याडम चिफ मिनिस्टर रिलिजअघि नै विवादमा फसेको छ। हालै फिल्मको केही पोस्टर र ट्रेलर रिलिज भएपछि ऋचाको लगातार विरोध भइरहेको छ। फिल्मको पोस्टर विवादपछि भीम सेनाका प्रमुख नवाब शतपाल तन्वरले फिल्ममा म्याडम चिफ मिनिस्टरको भूमिका निर्वाह गरेकी ऋचालाई ज्यान मार्ने धम्कीका साथै उनको जिब्रो काटेर ल्याउने मानिसलाई इनाम दिने दाबी गरेका छन्।

जागरण दैनिकको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार शतपालले फिल्ममा उत्तर प्रदेशको मुख्यमन्त्री मायावतीको छवि खराब गरेको आरोप लगाउँदै यस्तो प्रतिक्रिया दिएका हुन्। शतपालले यस फिल्मलाई उत्तर प्रदेशमा रिलिज हुन नदिने र रिलिज भएमा ऋचाको ज्यान लिने धम्की दिँदै ऋचाको काटिएको जिब्रो ल्याउनेलाई २ करोड इनामको बाबासाहेब अम्बेडकर शिल्ड दिने भनेकोे समाचारमा बताइएको छ।

फिल्मको एक पोस्टर रिलिजपछि आएको विवादपछि ऋचाले एक विज्ञप्ति जारी गरेर प्रचार सामग्रीमा बनाउनमा आफ्नो हात नरहेको भन्दै माफी मागे पनि शतपालले भने माफिनामा स्वीकार गरेका छैनन्। शतपालको धम्कीसम्बन्धी एक समाचार ट्विट गर्दै ऋचाले आफू यस धम्कीले नडराउने बताएकी छिन्।

शतपालले आफ्ना समर्थकहरुलाई फिल्मका निर्देशक सुभास कपुरलाई अपहरण गर्न आदेश दिएका छन्। फिल्मका निर्देशक सुभास कपुरले भने यो फिल्म शुद्ध काल्पनिक कथामा बने पनि मायावतीको जीवनमा आधारित भएको बुझेर यसको विरोधमा उत्रेको बताएका छन्। फिल्म म्याडम चिफ मिनिस्टर २२ जनवरीमा प्रदर्शन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्