ल्यापटप चोरेको आरोपमा ट्रम्पका समर्थक पक्राउ



वासिङ्टन, (एजेन्सी)

अमेरिकी क्यापिटल भवनमा दंगाबाजी भइरहेका बेला डेमोक्रेट सभामुख न्यान्सी पेलोसीको कार्यकक्षबाट एउटा ल्यापटप वा हार्ड ड्राइभ चोरी गरेको आशंकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना समर्थकलाई प्रहरीले गिरफतार गरेको छ । ‘रिली जुन विलियम्स’ नामक ती २२ वर्षीया युवतीलाई हिंसात्मक र अवैध ढंगले क्यापिटल भवनमा प्रवेश गरेका तथा जंगली आचरण देखाएको अभियोगमा पेनसिल्भानियाबाट हिरासतमा लिइएको हो ।

विलियम्सका पूर्व पार्टनरले उनले रुसी गुप्तचर निकायलाई डाटा बेच्न चाहेको पोल खोलेका छन् । ६ जनवरीमा अन्तर्राष्ट्रिय जगतलाई नै आश्चर्यमा पार्नेगरी क्यापिटल भवनमा भएको आक्रमणको दौरानमा एकजना प्रहरी अधिकारीलगायत पा“च जनाको ज्यान गएको थियो ।

क्यापिटल भवनमा जोय बाइडेनले गत वर्षको नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा औपचारिकरूपमा विजय हासिल घोषणा हुने तयारी भइरहेको समयमा भएको सो आक्रमणको सिलसिलामा २ सयजना भन्दा बढी अमेरिकीविरुद्ध मुद्दा दायर गरिएको छ ।

सोमबार प्रहरीले पक्राउ गर्न खोज्दा विलियम्सले आत्मसमर्पण गरेको सिबिएस न्युजले जनाएकोे छ । अमेरिकी संघीय जाँचबुझ ब्युरो ( एफबीआई ) ले उनले डाटा बेच्ने खोजेको भन्ने आरोपमाथि छुटै अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्