प्रधानमन्त्रीको टाटु खोपाएर क्यान्सरको उपचार



लन्डन, (एजेन्सी)

बेलायतका एकजना व्यक्तिले आफ्नो पेटमा प्रधानमन्त्री बोरिस जोहन्सनको ठूलो तस्वीरको टाटु खोपाएका छन् । ४२ वर्षीय केन्नी विल्डिङले यसरी पेटमा टाटु खोपाएकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन् । अमेरिकामा मलद्वारको चौथो चरणको क्यान्सरको उपचार गराइरहेका आफ्ना एकजना पारिवारिक मित्रलाई आर्थिक सहयोगका लागि कोष संकलन गर्ने उद्देश्यले उनले यो टाटु खोपाएका हुन् ।

मेगन स्मिथ परिवारले सन् २०१९ को जनवरीमा क्यान्सको पहिचान भएका आफ्ना परिवारका २५ वर्षीया सदस्य मिस स्मिथको उपचारका लागि १ लाख ५० हजार पाउन्ड सहयोग स्वरूप संकलन हुने आशा गरेको छ ।

किडर मिनिस्टर वोर्सेस्टरसायर निवासी विल्डिङले बाँच्ने अन्तिम मौका पर्खेर बसेकी मिस स्मिथका लागि छिटो पैसा संकलन गर्न बोरिस जोहन्सनको टाटु खोपाउने जुक्ति निकालेका हुन् ।

उनको एकजना साथीले दुई घन्टा लगाएर सो टाटु खोपाउन पैसाको बन्दोबस्त गरिदिएका थिए । २ सय पाउन्ड तिरेर बनाइएको यस टाटुबाट ८ सय पाउन्ड संकलन भइसकेको बताइएको छ । त्यसैगरी, स्मिथ परिवारले अहिलेसम्म ४६ हजार पाउन्डभन्दा बढी रकम जम्मा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्