ट्रम्पकोे अन्तिम आदेश–पत्र बाइडेन सरकारले अवज्ञा गर्ने



वासिङ्टन, (एजेन्सी)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले ह्वाइट हाउसले जारी गरेको कोभिड–१९ सँग सम्बन्धित भ्रमण नियम खारेज गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम दिन यो कदम उठाइएको हो । अन्तिम क्षणमा ट्रम्पले युरोप र ब्राजिलबाट अमेरिका भ्रमणमा आउनेहरूमाथि लगाइँदै आएको प्रतिबन्धलाई एक विज्ञप्तिमार्फत खारेज गने प्रयास गरेका थिए ।

बाइडेनका महिला प्रवक्ताले अहिले भ्रमणलाई सुचारु गर्ने समय नभएको बताएकी छन् । बाइडेनले बुधबार करिब मध्याह्न नया“ कार्यभार सम्हाल्ने भएका छन् । ट्रम्पले राष्ट्रपतिको हैसियतले अन्तिम समयमा राष्ट्रपतीय क्षमादान अधिकार पनि प्रयोग गरेका छन् । क्षमा पाउने सूचीमा करिब एक सय व्यक्ति रहेको बताइएको छ ।

सत्ता शुभारम्भ कार्यक्रमको सम्मुख अमेरिकाको वासिङ्टन डीसीमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । पाँच जना मानिसको ज्यान जानेगरी ६ जनवरीमा क्यापिटल भवनमा भएको ट्रम्प समर्थकहरूको आक्रमणलाई मध्यनजर राख्दै अमेरिकाको ५० वटै राज्यमा हजारौं संख्यामा नेसनल गार्ड फौज तैनाथ गरिएको छ ।

यसअघि, नै अमेरिकी संघीय जाँचबुझ ब्युरो (एफबीआई) ले दक्षिणपन्थी उग्रवादीहरूले देशव्यापीरूपमा हिंसात्मक प्रदर्शन हुनसक्ने चेतावनी दिएको थियो । मंगलबार नै जोय बाइडेन आफ्नी धर्मपत्नी जिलसँगै डेलावरको विल्मिंग्टनस्थित आफ्नो घरबाट वासिङ्टनका लागि प्रस्थान गर्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरस बिगबिगीका कारण अमेरिकाले गतवर्षको मार्च महिनादेखि युरोपबाट अमेरिकातर्फ हुने भ्रमणमाथि बन्देज लगाएको थियो । त्यसैगरी, ब्राजिलमाथिको प्रतिबन्ध मे महिनादेखि लागू गरिएको थियो । तर, ट्रम्पले आगामी २६ जनवरीदेखि सो प्रतिबन्ध फुकुवा हुने भन्दै सोमबार एक आदेश–पत्र जारी गरेका थिए ।

त्यसको केही मिनेटपछि नै बाइडेनका प्रवक्ता जेन पास्कीले प्रतिबन्ध नहटाउने सम्बन्धमा यसरी टिव्ट गरेकी थिइन्– ‘हाम्रो मेडिकल टोलीको सल्लाहअनुसार सरकारले जनवरी २६ मा भ्रमण प्रतिबन्ध नहटाउने भएको छ । वास्तवमा हामी कोभिड–१९ संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय भ्रमणभरि जनस्वास्थ्य उपायहरू अझै बलिया पार्ने योजनामा छौं ।

पहिलोचोटि बेलायतमा फेला परेको नयाँ विकसित स्वरूपको कोरोना भाइरस विश्वभरि फैंलिँदै गइरहेकाले यो प्रतिबन्ध हटाउने अहिले उचित समय होइन ।’ क्यापिटल आक्रमणको घटनापछि टिव्टर कम्पनीले डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्टमा रोक लगाएकाले ट्रम्पले आफ्नो आदेश–पत्रको वेवास्ता गरिँदा पनि चुपचाप बसेको देखिन्छ । मंगलबार कार्यकालको अन्तिमसम्ममा ट्रम्पले अन्य पनि केही महत्वपूर्ण निर्णयहरू लिन सक्ने राजनीतिक समीक्षकहरूले अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्