दम्पती मृत फेला, विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने आशंका



काठमाडौं, (नेस)

ललितपुरको महालक्ष्मी नगरपलिका–७ चांगाथलीमा बस्दै आएका एक दम्पती मृत अवस्थामा फेला परेका छन् । सप्तरीको राजविराज घर भई सो ठाउँमा बस्दै आएका सागर पोखरेल र निर्मला पोखरेल मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

लामो समयदेखि बस्दै आएका पोखरेल दम्पतीले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । पोखरेल दम्पतीको कोठाबाट प्रहरीले सेलफस नामक विषादीसमेत फेला पारेकाले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।

श्रीमान्श्रीमतीबीच अहिलेसम्म त्यस्तो कुनै विवाद नभएको र आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । परिवार नै अहिले पूरै शोकमा परेको कारण विष सेवन गर्नुको रहस्य नखुलेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्