चिकित्सक कुटिए



काठमाडौं, (नेस)

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आईसीयूमा उपचाररत बुटवलका एक बिरामीको मृत्युपछि बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मंगलबार मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी निरीक्षक पुष्प थापाले जानकारी गराउनुभयो । अस्पतालको कोभिड आईसीयूमा कार्यरत आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि मृतकका आफन्तले गालीगलौज गर्दै कुटपिट गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेर दुवै पक्षबीच छलफल भइरहेको बताउनुभयो ।

अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार मृतक निमोनियाको बिरामी भएको र बुटवलमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएन्जाको परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

इन्फ्लुएन्जाको रिपोर्ट पनि नेगेटिभ आयो । पुनः पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको डा. दासले जानकारी दिनुभयो । मृतकका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्