होम आइसोलेसनमा बसेका दुईको मृत्यु



बाँके, (नेस)

नेपालगन्जमा होम आइसोलेसनमा बसेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगरका ७० वर्षीय र नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीका ४९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

दुवै जना होम आइसोलेसनमा बसेका थिए । धम्बोझीका ४९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा पुस २७ गते स्वाब लिइएको थियो । भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनी होम आइसोलेसनमा बस्न गए । होम आइसोलेसनमा बसेका बेलामा एक्कासि बेहोस भएपछि उनलाई मंगलबार बिहान ६ बजे भेरी अस्पतालमा लगियो । अस्पताल पु¥याएकोे दश मिनेटमै उनको मृत्यु भयो ।

भृकुटीनगरका ७० वर्षीय पुरुषलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । अक्सिजनको लेबल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइयो । दुई दिनको उपचारपश्चात् उनलाई पुनः होम आइसोलेसनमा लगियो । वृद्धको सोमबार राति मृत्यु भयो ।
बाँकेमा अहिले पनि ६१ जना होम आइसोलेसनमा रहेका छन् ।

भेरी अस्पतालमा ३१ जना संक्रमितको उपचार भइरहेको छ । लक्षण देखिएका र ज्येष्ठ नागरिकलाई होम आइसोलेसनमा राख्नु जोखिम हुने गरेको छ । बाँकेमा अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो दिनमा कोभिडको परीक्षण कम हुने गरेको छ । त्यसो हुँदा बिरामीको संख्या पनि घटेको छ । आम मानिसले कोभिडलाई सामान्य लिने गरेका छन् । जिल्लामा भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार हुँदै आएकोमा मेडिकल कलेजले कोरोना वार्ड नै बन्द गरिसकेको छ । बिरामीको संख्यामा कमी आउँदा कोरोना वार्ड बन्द गरेको मेडिकल कलेजसम्बद्धले बताएका छन् ।

बाँकेमा ४३ हजार ८ सय ६५ जनालाई पीसीआर परीक्षण गरिएको छ । ४ हजार ५ सय ६३ जना पोजेटिभ भएका छन्, त्यसमा ४ हजार ४ सय २० जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्