पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग



ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताउनुभयो । पाटन अस्पताल ललितपुर महानगरपालिकाभित्र हुनु गौरव कुरा भएको बताउँदै उहाँले भन्नुभयो– ‘नेपाल सरकारले अन्य स्थानीय तहलाई अस्पताल बनाउन आर्थिक सहयोग गर्दा ललितपुर महानगरपालिकालाई सहयोग गरेन, सहयोग नगर्नुको कारण राम्रो सेवा पु¥याइरहेको अस्पताल पाटन अस्पताल ललितपुर महानगरमा छ भनेर नै हो, पाटन अस्पतालले राम्रो सेवा पु-याउने राम्रो अस्पताल छ भनेर नै हो । ’

महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरपालिकाको गहना अस्पताल भएको बताउँदै मुलुकका उच्चदेखि निम्न वर्गले सर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताउनुभयो । अस्पतालका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालले मुख्य गरी कोभिडका बेला गरेको कामलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको बताउँदै यसले हौसला मिलेको बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले पाटन अस्पतालले कोभिड संक्रमितको बिरामीको उपचारमा प्रशंसनीय काम गरेको बताउनुभयो । उहाँले पाटन अस्पतालमा ७७ जिल्लाका सर्वसाधारण उपचार गर्न आउने भएकाले पाटनलाई ललितपुर महानगरले सहयोग गरेको स्पष्ट पार्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर इम्रान अन्सारी, प्रशासकीय अधिकृत तीर्थराज भुजेल, लीलाराज भुजेलको त्यहाँ उपस्थिति थियो । साथै कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विण्णुप्रसाद कोइराला, २९वटै वडाका वडाध्यक्षहरु, महाशाखा प्रमुख, सल्लाहकारहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्