मृगौला पीडितलाई स्याङ्जा समाज जापानको आर्थिक सहयोग



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाबाट विभिन्न सिलसिलामा जापान पुगेकाहरुको सस्था स्याङ्जा समाज जापानले मृगौला पीडितलाई १ लाख ६५ हजार सहयोग गरेको छ ।

दुबै मृगौला फेल भएका गल्याङ नगरपालिका ११ दिमिकका लेखनाथ भट्टराईलाई समाजले उक्त आर्थिक सहयोग गरेको हो । सोमबार समाजका पदाधिकारी,पत्रकार, समाजसेवी सहित भट्टराईको घरमा पुगेको टोलिले उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीका प्रमुख सल्लाहकार खेम काफ्लेले आफ्नो खाजा खर्च कटाएर सहयोग गर्ने जापानमा रहेका साथीहरूलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै उक्त वडाका वडा अध्यक्ष शंकरदेव अधिकारीले मृगौला पीडितलाई नगरपालिकाबाट पनि केही आर्थिक सहयोग गर्ने कुरा चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,’ पीडितको बिषयमा नगरपालिका कुरा भएको छ छिट्टैनै केही सहयोगको घोषणा गर्ने छौँ ।’

जापान देखि सहयोग रकम लिएर आउनु भएका स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणि भण्डारीले रकम संकलन गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै मार्च २८ तारीखमा हुन लागेको स्याङ्जा समाज जापानको पाचौं अधिबेशनमा जापानमा रहेका सम्पुर्ण स्याङ्जा जिल्ला वासीलाई सहभागी हुन आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्