मुगुका विद्यार्थीलाई न्यानो कपडा



मुगु, (नेस)

हिमाली जिल्ला मुगुमा चिसोले पठनपाठनमा समस्या भएपछि मानवअधिकार तथा वातावरण विकास केन्द्र मुगुले जिल्लाका ३ दर्जनभन्दा बढी विद्यालयका विद्यार्थीलाई लत्ताकपडा वितरण गरेको छ । गरिबको रेखामुनि रहेका विद्यार्थीलाई न्यानो कपडा, झोला, जुत्तालगायतका सामग्री मानवअधिकारवादीले दिएका हुन् ।

बिहान बेलुका के खाउँ के लगाउँ भन्ने अवस्थामा बाक्लो कपडाको जोह गरेर विद्यालय पठाउन बालबालिकालाई समस्या भएको अवस्थामा मानव अधिकारवादी तथा अन्य संस्थाले कपडा दिएपछि बालबच्चालाई विद्यालय पठाउन सजिलो भएको सोरु गाउँपालिका–९ की जैमति नेपाली बताउनुहुन्छ । कोभिड–१९ का कारण लामो बिदा भएपछि यति बेला जाडो बिदा हुने विद्यालयमा पढाइ भइरहेको छ ।

जाडोमा विद्यालयमा पठनपाठनमा समस्या नहोस् भनेर आफ्नोे संस्थाले मुगुका आधारभूत तहका बाल विकासदेखि कक्षा ८ सम्मका बालबालिकालाई न्यानो कपडा बिगत ५ वर्षदेखि वितरण गर्दै आएको मानवअधिकार तथा वातावरण विकास केन्द्रका शिक्षा अधिकृत गोविन्द सञ्ज्यालको कथन छ ।

न्यानो कपडा पाएसँगै मुगुका विद्यार्थीको पढाइप्रति आर्कषण बढ्दै गएको रारा मावि कच्चेका शिक्षक पदमबहादुर बुढा बताउनुहुन्छ । चिसो बढ्दै गएसँगै जिल्लामा सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्दै आयका विभिन्न संघ–संस्थाले चिसोबाट बच्न लक्षित वर्ग बालबालिका, अपांग, वृद्ध अवस्थाका दलित, टुहुरालगायतलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्