ट्रंक लाइन बिलिङ समस्या समाधान गर्न आग्रह



बु्टवल, (नेस)

रुपन्देही उद्योग संघले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई उद्योगीका समस्या सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीका उद्योगीहरुले ट्रंक लाइन बिलिङ समस्याले चिन्तित बनेको, विद्युत् प्रसारणमा गुणस्तर घटेको तथा पुसदेखि चैतसम्मको अफ आवर सुविधा उपलब्ध नगराएको लगायतका समस्याका बारेमा ज्ञापन पत्र बुझाउनु भएको हो ।

उहाँले सो अवसरमा बोल्नुहुदै उत्पादन क्षेत्रमा डिमान्ड शुल्क सधैंका लागि खारेज गर्न र महशुलमा समेत छुट र सहुलियत उपलब्ध गराउनुपर्नेमा समेत विशेष जोड दिनुभएको थियो । ज्ञापन पत्र बुझ्नु हुदै मन्त्री रायमाझीले उद्योगीहरुले उठान गरेको विषय उपर आफू गम्भीर रहेको र समस्या समाधानका लागि आफ्नो तर्फबाट तत्काल छलफल र पहलको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

उहाँले विद्युत् आपूर्ति बढ्दै गइरहेकाले औद्योगिक क्षेत्रलाई प्रशस्त आपूर्ति गर्न सकिने बताउँदै लगानी वृद्धि गर्न समेत उद्योगीलाई आग्रह गर्नु भएको थियो । सरकारले बजेटमार्फत लकडाउन अवधिको डिमाण्ड शुल्क शतप्रतिशत छुट र महशुलमा सहुलियत दिने घोषणाको कार्यान्वयनका लागि संघले पटक– पटक आग्रह गर्दै आएको र आइतबारमात्रै सो सम्बन्धमा अर्थ मन्त्रालयले छुट दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्