भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन



चितवन । नेपाल प्रहरीको २२ वर्षे सेवाअवधि पूरा गरेकी कल्पना पौडेल खड्काले यहाँ होटल व्यवसाय शुरु गरेकी छिन । प्रहरी सेवामा रहँदा विभिन्न जिल्लामा अपराध अनुसन्धानमा बढी समय बिताएकी उनले भरतपुरका चौबीसकोठीमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचन सञ्चालनमा ल्याएकी छिन ।

भरतपुर महानगरपालिका–३ बेलचोक निवासी उनले प्रहरी नायब निरीक्षक पदबाट गत वर्ष स्वेच्छिक अवकाश लिएकी थिईन। अनिवार्य अवकाशका लागि आठ वर्ष बाँकी रहेको भए पनि ऊर्जाशील समयमा व्यवसाय गर्नकै लागि सेवा निवृत्त भएको उनले बताईन । उनले एक करोडभन्दा बढी ऋण धन जुटाएर आकर्षक होटल सञ्चालनमा ल्याएकी हुन ।

तीस जना अट्ने सभाकक्षसहित एकै पटकमा १०० भन्दा बढी बसेर खाना खान मिल्ने गरी होटल सञ्चालनमा ल्याइएको छ । होटलमा मुख्यरूपमा थकाली खानासँगै रेष्टुरेण्टमा पाइने सबै प्रकारका खाना र खाजा पाइन्छन् । उनले भनिन– मेरोमा सेवाग्राहीको चाहनाअनुसार अन्यत्र पाइने खाजाका सबै परिकार बन्दछन् । तैपनि थकाली खाना हाम्रो मुख्य परिकार हो । स्थानीय जातको कुखुरा, खसी, हाँसको मासुसहितको खाना धेरैले मन पराएको उनको भनाइ छ । होटलमा मःमः, चाउमिन, ललिपप, चिकेनचिल्लीलगायतका रेष्टुरेन्टका परिकार पाइन्छन् ।

उनले थपिन– भरतपुर क्षेत्रमा राम्रो खाना कहाँ पाइन्छ भन्नेहरुका लागि सेवा दिनैका लागि मैले होटल खुलेकी हुँ ।” विदेशमा रहनुभएका श्रीमान् श्रीराम पौडेललाई पनि यही व्यवसायमा सँगै काम गर्न बोलाएको उहाँले जानकारी दिनुभयो । तीन सन्तानकी आमा उहाँले घरको जिम्मेवारीसँगै व्यवसाय गर्नुभएको हो । उनले भनिन–घरपरिवारकै सहयोगको कारण व्यवसायमा लागेकी हुँ ।

गत वैशाखबाट शुरु गरिएको होटलमा हाल दैनिक १०० भन्दा बढीले सेवा लिने गरेको उनको भनाइ छ । सानो ठाउँमा राम्रो व्यवस्थापनका साथ आकर्षक सजावट गरेर होटल बनाइएको छ । पूर्वपश्चिम राजमार्गमा जोडिएको उक्त होटल भरतपुर विमानस्थलसँगै रहेको छ । होटल अगाडि पार्किङको सुविधासमेत भएकाले ग्राहकको रोजाइ बन्न सकेको उनको भनाइ छ ।

अपराध नियन्त्रणसँगै महिला अधिकारका क्षेत्रमा काम गर्ने भएकाले उनको होटलमा जिल्लाका महिला अधिकारकर्मीको पनि राम्रो उपस्थिति हुने गरेको छ । लामो समय जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहेकी पौडेलको राजनीतिक, सामाजिक र व्यवसायिक व्यक्तिको सम्पर्क राम्रो रहेकाले पनि होटल व्यवसायमा सहयोग पुगेको उनी बताउछिन । उनले भनिन–मेरो प्रहरी सेवा थियो भने अहिले म सेवामूलक व्यवसायमा लागेको छु । प्रहरी सेवामा हुँदाको सम्पर्कले पनि अहिले व्यवसायमा सहज भएको उहाँको अनुभव छ ।

उनले प्रहरीमा हुँदा चितवनसहित धनुषा, रुपन्देही, काठमाडौँलगायतका जिल्लामा रहेर काम गरेकी थिईन । उनको सम्पर्क र चिनजानकै कारण शनिबार राष्ट्रियसभाका सदस्यदेखि भरतपुर महानगरपालिकाका उपप्रमुखसम्मका महिला जनप्रतिनिधिले संयुक्तरूपमा होटलको उद्घाटन गरेका थिए । सो उद्घाटनमा सबै दलका महिलाको सहभागिता थियो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, प्रदेशसभा सदस्य, कञ्चन खनाल, पार्वती सिलवाल, रिना गुरुङ र भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरूपमा होटलको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्